Latest News

ओलीले उक्साएको आरोप लागेपछि भरतपुर मेयरका उम्मेदवार पौडेलले दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 29, 2022 (1 Year ago)    1740 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल अहिले चर्चाको पात्र बनिरहेका छन् । महानगरपालिकाको सत्ता गठबन्धनको साझा मेयरको उम्मेदवारको रुपमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छिन् ।

पार्टीले मेयरको साझा उम्मेदवार रेनुलाई बनाउने औपचारिक निर्णय गरेसँगै असन्तुष्ट बनेका पौडेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी फिर्ताका लागि केन्द्रबाट शीर्ष नेताहरुले चर्को देउवा दिएपनि उनले उममेदवारी फिर्ता नगर्ने भएका छन् ।

उम्मेदवारी फिर्ता नगर्नै अडानसँगै उनीमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उक्साहट रहेको आरोपसमेत लागिरहेको छ । उनले ओलीको उक्साहटका कारण पार्टीको निर्देशन मान्न तयार नभएको भनेर आलोचना सुरु भएको छ ।

यसबारे उनले प्रतिक्रिया दिँदै आफू एमालेका अध्यक्ष केपी ओलीको उक्साहटमा नलागेको स्पष्टीकरण दिएका छन् । पौडेलले भने, “मैले कसैको आशीर्वाद पाएको भए निरन्तर सत्तामा हुन्थेँ । अथवा प्रधानन्यायाधीश भएर रिटायर हुन्थेँ होला । केपी ओलीलाई त म चिन्दा पनि चिन्दिनँ । म त आफू जित्नका लागि लडेको हुँ । कसैलाई हराउन मात्र होइन ।”

यस्तै उलले भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफू नेपाली कांग्रेसको बागी नभएको बताएका छन् । पौडेलले भने, “पहिलो कुरा म बागीसागी केही होइन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले कुनै उम्मेदवारी दिएको छैन । भलै मैले नेपाली कांग्रेसको केन्द्रको लाइसेन्स पाएको छैन । तर मेरो उम्मेदवारी रुख र चार तारे झन्डा विरुद्ध होइन । कांग्रेसका साथीहरुको समर्थनमा उठेको हुँ । त्यसैले उम्मेदवारी फिर्ता लिने कुनै कारण देख्दिनँ ।”

आफूले स्थानीय तहमा उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकार नहल्लिने पनि उनले औंल्याए । पौडेलले भने, “भरतपुरमा मेयरका अरु ३२ जना स्वतन्त्र उम्मेदवार छन् । अरुले उम्मेदवारी दिँदा केही नहुने, मैले उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकारमा कसरी हलचल हन्छ रु मेरो उम्मेदवारीको गठबन्धनसँग कुनै साइनो छैन । हामीले त्यति कमजोर भएर सोच्नु हुन्न । किनभने त्यसको विधि, पद्धति र प्रक्रियामा म संलग्न छैन ।”

उनले कुनै पनि नेताले आफूलाई गलाउन या फकाउन नसक्ने पनि बताए । पौडेलले भने, “सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्डलगायत गृहमन्त्री बालकृष्ण खाँड, उमेश श्रेष्ठलाई मैले सहयोग गर्नुस् सके, नसके म बबुरोलाई संवैधानिक हक प्रयोग गर्दा नरोक्नुस् भनेको छु । मैले नागरिक अधिकार प्रयोग गर्न किन नपाउने रु मैले छाड्न मिल्ने, रेणु दाहालले किन नमिल्ने रु उहाँ त बहिनी, छोरी सरहको मान्छे हो । उहाँको समय छ । मलाई छाडिदिए हुन्छ नि । मलाई गलाउने, फकाउने कुरा छैन ।”

पौडेलले आफू पार्टीको कारबाही भोग्न तयार भएको पनि बताए । उनले भने, “म नेपाली कांग्रेसको सानो कार्यकर्ता हुँ । तर निष्ठाको सवालमा म सानो मान्छे पनि होइन । त्यसैले सारा चितवन मेरो पछाडि लागेको छ । भरतपुरमा चार तारे झन्डा र रुखको उम्मेदवार को छ ? मैले हँसिया, हथौडामा भोट हाल्दिनँ भन्दा कारबाही गर्न मिल्छ रु मलाई दोष दिन मिल्छ रु म चितवन कांग्रेसको भावनाका निम्ति प्रतीक मात्र हुँ । म फिर्ता लिन्नँ । बरु म कारबाही भोग्छु । त्यो मैले सहनुपर्छ । राजीनामा दिनु परे पनि दिन्छु । एक्लो बृहस्पति हुँला तर म देशभरका कांग्रेसका लागि दीप जलाएर बस्छु ।”

बिहीबार बसेको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठकले शुक्रबार बिहानसम्म बागीलाई उम्मेदवारी फिर्ता गराउन पहल जारी राख्ने निर्णय गरेको थियो ।

सोहीअनुसार समिति सदस्य र शीर्ष नेताले नै बागीसँग टेलिफोन सम्पर्क थालेका हुन् । कतिपय बागीले शीर्ष नेतासँगको टेलिफोन संवादपछि उम्मेदवारी फिर्ता लिन सहमति जनाएका छन् ।

समितिका सदस्यसचिव केशवराज जोशीका अनुसार बैठकमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगायत विषयमा छलफल भएको थियो । ‘केन्द्रबाट भएको ६ महानगर र ११ उपमहानगर तथा जिल्ला र प्रदेश तहबाट तालमेल भएका छन् । त्यसका बाबजुत पनि गठबन्धनमा रहेका दलहरूबाट विभिन्न ठाउँमा बागी उम्मेदवार कायम भएका छन्,’ उनले भने, ‘जुन दलबाट बागी उम्मेदवार उठेका छन्, तिनै दलले सम्झाउने–बुझाउने जिम्मा लगाइएको छ । पार्टीगत निर्णय भएर परेका उम्मेदवारी पार्टीले फिर्ता लिने, व्यक्तिगत रूपमा हालेकालाई सम्झाउने र नमानेकालाई शीर्ष नेतृत्वबाट शुक्रबार टुंग्याउने निर्णय भएको छ ।’

बैठकमा दलहरूले आ–आफ्नोतर्फबाट भएका बागी र असन्तुष्ट उम्मेदवारीबारे जानकारी गराएका थिए । भरतपुरमा प्रमुख माओवादीले पाएको, तर कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएको, पोखरा महानगरमा प्रमुख एकीकृत समाजवादीले पाए पनि कांग्रेस समर्थकले उम्मेदवारी दर्ता गराएको, जितपुर–सिमरा उपमहानगरमा माओवादीले प्रमुख पाएकोमा गठबन्धनकै अरू दलले उम्मेदवारी दिएको, विराटनगर महानगरमा कांग्रेसले प्रमुख पाएकोमा कांग्रेस छाडेका समर्थकले उम्मेदवारी दिएकोलगायत विषयमा बैठकमा रिपोर्टिङ भएको थियो ।

राष्ट्रिय जनमोर्चाका उपमहासचिव हिमाल पुरीले बैठकमा बागी उम्मेदवारीको नाम निकाल्नेबारे छलफल भएको बताए । ‘सबै पार्टीबाट बागी उम्मेदवारी परेको देखियो,’ उनले भने, ‘हाम्रो मुख्य चासोको विषय एमालेसँग तालमेल भएका स्थानमा हो । एमालेसँग माओवादीको बढी स्थानमा तालमेल भएको देखिएको छ,’ उनले भने, ‘सबै दलले उम्मेदवारी फिर्ता गर्ने वचन दिएका छन् ।’

नेता पुरीले जनमोर्चाले पाउने केही ठाउँमा माओवादी र एमाले मिलेको र काठमाडौंको चन्द्रागिरिमा जनमोर्चालाई दिने भनिएकोमा गठबन्धनकै दलहरूबाट उम्मेदवारी परेको बताए । उनले फिर्ता गराउन सबै दलबाट प्रयास भइरहेको र टुंगिन नसकेका स्थानमा शुक्रबार बिहान शीर्ष नेता बसेर निर्णय गर्ने सहमति भएको बताए ।

निर्वाचन आयोगले तोकेको समयभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह छ । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका साथ लाग्नसमेत उनको निर्देशन छ ।

संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भहरूलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता भएको देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस