Latest News

ओलीले फोन गरेर यस्तो आश्वासन दिएपछि मेयरले लिए उम्मेदवारी फिर्ता

Nepalese Times April 29, 2022 (1 Year ago)    991 Views

धनुषाको मिथिला नगरपालिकामा एमालेबाट उठेका बागी उम्मेदवारी दिएका हरिनारायण महतोले नाम फिर्ता लिएका छन् । महतोलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए । अध्यक्ष ओलीले उनलाई सांसद बनाउने वचन दिएको स्रोतको भनाइ छ ।

निवर्तमान मेयर समेत रहेका महतोले भने, ‘अध्यक्ष केपी शर्मा ओलीले तपाईको व्यवस्थापन गर्छु भनेपछि उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेँ ।’ एमालेले मिथिला नगरपालिकाको मेयरमा नवप्रवेशी राजाराम महतोलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दर्ता गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिपछि उनले एमालेबाटै मेयरमा उठेका राजाराम महतोलाई नै सघाउने निर्णय गरेका हुन्।

‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनुस्, तपाईंको व्यवस्थापन हामी गर्छौं भनेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु,’महतोले भने।

रघुवीर महासेठको बदमासीले आफ्नो टिकट काटिएको उनको भनाइ छ।

उनलाई फकाउन अध्यक्ष ओलीले नै काठमाडौं बोलाएका थिए। बालकोटमा ओलीसँग भेटघाटपछि उनी उम्मेदवारी फिर्ता लिएर राजारामलाई नै सघाउने निर्णयमा पुगेका हुन्।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।

कांग्रेसबाट भएको उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएक थिए।

शुक्रबार उम्मेदवारी फिर्ता लिँदै सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरिलाई समर्थन गरेका हुन्। गठबन्धन दलका नेताहरुबीच भएको सहमतिअनुसार तुलसीपुरको मेयर कांग्रेसले पाएको थियो।

कांग्रेसले गेहेन्द्र गिरिलाई तुलसीपुरको उम्मेदवार उठाएको हो। गिरिलाई मेयरको उम्मेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उम्मेदवारी फिर्ता लिँदै उनले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिलाई विजयी गराउन अपिल गरेका छन्।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिनका लागि तामाङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनगरेपछि आफू उम्मेदवारी फिर्ता लिनका लागि तयार भएको तामाङले बताए।

पार्टीको अभिभावक नै प्रचण्ड भएकाले उनले भनेपछि आफू मान्न तयार भएको तामाङको भनाई छ। अहिले चौतारा साँगाचोकगढीको प्रमुखमा माओवादीले कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’लाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस