Latest News

भरतपुरको मेयरमा बागी उठेका पौडेलले अन्तत : गरे यस्तो निर्णय

Nepalese Times April 29, 2022 (1 Year ago)    1605 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफूले उम्मेदवारी फिर्ता नलिने निर्णय गरेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेकाले त्यो समयसम्ममा उनको उम्मेदवारी फिर्ता गराउन सत्ता गठबन्धनका शीर्ष नेताहरु लागिपरेका थिए ।

पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका पार्टीका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले भरतपुर पठाएका थिए। भरतपुरमा बसेर दुई दिनसम्म प्रयास गर्दा उनीहरूले पौडेललाई मनाउन सकेनन्।

शुक्रबार बिहान भरतपुर ७ कृष्णपुरस्थित निवासमा पुग्दा पौडेललाई कार्यकर्ताले घेरिरहेका थिए। उनको घरको कम्पाउण्ड र सडक कार्यकर्ताले खचाखच थिए। पौडेललाई तारन्तार केन्द्रीय नेताहरूको फोन आइरहेको थियो। उनी भन्दै थिए अब म फिर्ता हुन सक्ने अवस्था छैन। कार्यकर्ता उनलाई कुनै हालतमा उम्मेदवारी फिर्ता नलिन दबाब दिइरहेका थिए।

उनको यस्तो निर्णयले पौडेललाई फकाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको छ। पौडेलले अब उममेदवारी फिर्ता लिने कुरा सुन्न पनि तयार नभएको बताएका छन् ।

उनलाई फकाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले प्रयास गरेका थिए।

उनीहरूले फोन गरेर उम्मेदवारी फिर्ता गरी गठबन्धनलाई सहयोग गरिदिन पौडेललाई आग्रह गरेका थिए। तर पौडेलले आफू धेरै अघि बढिसकेकाले अब फिर्ता हुने ठाउँ नरहेको बताउने गरेका छन्।

कुराकानीका क्रममा पौडेलेल आफूलाई उम्मेदवारी फिर्ता लिन पार्टीभित्र बाहिरका विशिष्ट सरकारी, गैरसरकारी तहका उच्च पदस्थ धेरैले आग्रह गरेको तर अब त्यो सम्भावना नरहेको बताएका कछन् ।

उनीहरूबाट धेरै आश्वासन पनि आएको भन्दै उनले आफूलाई त्यस्ता आश्वासनको लोभ नभएको बताए। पौडेलले आफूलाई कार्यकर्ताबाट सोच्दै नसोचेको समर्थन प्राप्त भइरहेको बताए।

उनले शीर्ष नेताहरुले सम्झाउन खोजेको तर आफूले हात जोडेर निवेदन गरी ‘एउटा चरणमा तपाईंहरूले भनेको सबै कुरा मान्थें तर अहिले म पोइन्ट अफ नो रिटर्नमा छु। म त्यहाँबाट फर्कन सक्दिनँ यो मेरो निमित्त निकै कष्टकर छ, मैले दुःखका साथ भन्नुपर्छ नाम फिर्ता लिन सक्दिनँ’ भन्ने गरेको बताए।

पौडेलले कांग्रेस पार्टी रूखका विरूद्धमा आफ्नो उम्मेदवारी नभएकाले पार्टीले आफूलाई कारबाही गर्ने कानुनी आधार नरहेको बताए। तर कारबाही गरिहाले पनि त्यसलाई सहने उनले बताए।

प्रतिक्रिया दिनुहोस