Latest News

गृहमन्त्री बालकृष्ण खाणलाई कारबाहीको तयारी

Nepalese Times April 29, 2022 (1 Year ago)    989 Views

चितवन पुगेर बागी उम्मेदवार फकाउन सक्रिय भएका गृहमन्त्री  बालकृष्ण खाणलाई  निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ। आयोगले खाणको गतिविधिलाई निर्वाचन आयोगले ‘नोटिस’मा लिएको जनाएको छ।

बिहीबार नियमित पत्रकार सम्मेललमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक सञ्चार माध्यममा आएका कुराहरु आयोगले अनुगमन गरिरहेको र गृहमन्त्रीको भ्रमणप्रति ध्यानाकर्षण भएको बताएका थिए।

गृहमन्त्रीले स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दबाब दिन मिल्ने कि नमिल्ने, आचारसंहिता उल्लंघनका बारेमा आयोगको पदाधिकारी वैठकले निर्णय गर्ने अर्यालको भनाइ थियो। गृहमन्त्री खाण काठमाडौं पुगेपछि उनलाई चितवन भ्रमणबारे पत्र लेख्न सक्ने निर्वाचन आयोग स्रोतले बताएको छ।

हालससम्म कारबाहीको कुनै निर्णय नभएको र सार्वजनिक भएको कुरामा आयोगको ध्यानाकर्षण भएकाले शुक्रबार पदाधिकारी बैठक बसेर केही निर्णय हुने आयोग स्रोतले जानकारी दिएको छ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल पछि नहट्ने भएका छन्।

पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले शुक्रबार ५ बजेसम्म अडान काय राखे पार्टीबाट निष्काशित हुने छन्।

पूर्व राष्ट्रियसभा सदस्यसमेत रहेका नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आग्रह अटेर गर्दै उम्मेदवारी फिर्ता नलिने अडान राखेका छन्। देउवाले उनलाई काठमाडौं आउन भनेका थिए। तर उनले आफूलाई फुर्सद नभएको जवाफ दिए।

कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार बेलुकी ५ बजेभित्र विद्रोही उम्मेदवारले मनोनयन फिर्ता नलिए पार्टीबाट निष्काशन हुने चेतावनी दिएको छ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भइ पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेसले शुक्रबार बिहान निकालेको विज्ञप्तिमा भनिएको छ।

उक्त विज्ञप्तिअनुसार ‘बागी’ उम्मेदवार पौडेलका प्रस्ताव कृष्णलाल सापकोटा र मीना खरेल पनि पार्टीबाट स्वतः निष्काशित हुने भएका छन्। ८४ वर्षीय सापकोटा पौडेलका प्रस्तावक र खरेल समर्थक हुन्।

कांग्रेस चितवनका पूर्वसभापति सापकोटा जिल्लाका पुराना नेता हुन् भने खरेल सामाजिक अभियन्ताका रुपमा परिचित छन्।

भरतपुर महानगरमा गठबन्धनका साझा उम्मेदवार दाहालविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका पौडेल नगरपालिका हुँदा उपप्रमुख भइसकेका व्यक्ति हुन्। उनी पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस