Latest News

कांग्रेसका यी ३ बागी उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

Nepalese Times April 29, 2022 (1 Year ago)    879 Views

काठमाडौं । पूर्वीनवलपरासीमा कांग्रेसका ३ जना बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । बुलिंटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै कावासोतीमा कांग्रेसका २ बागी उम्मेदवारले पनि नाम फिर्ता लिएका कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले जानकारी दिए । कावासोती नगरपालिका १२ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका त्यहाँका पार्टी सभापति राजकुमार गुरुङ र विष्णुप्रसाद लम्सालले शुक्रबार मनोनयन फिर्ता लिएका हुन् ।

निर्वाचन कार्यालयले उनीहरूले फिर्ता लिएको पुष्टि गरेको छ । उम्मेदवार मनाउन जिल्ला नेताहरू बागीको घरघर पुगेका थिए । उनीहरूले निर्वाचन कार्यालयमा गएर नाम फिर्ता लिइसकेको कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले बतताए । त्यहाँ कांग्रेसले देवीप्रसाद काफ्लेलाई वडाध्यक्षमा उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता नगरे स्वतः पार्टीबाट निस्कासित गर्ने भनेर विज्ञप्ति नै सार्वजनिक गरेको छ । उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै कांग्रेसले यदि निर्देशन नमानेर उम्मेदवारी फिर्ता नगरे पार्टीबाट स्वतः निस्कासित गर्ने भनेको हो ।

यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसले एक विज्ञप्ति सार्वजनिक गर्दै चेतावनी दिएको छ ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले पाँच दलमा भएको सहमतिविपरीत दर्ता गरिएका स्वतन्त्र उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय लिएको छ।

‘पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने’, निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने।’

पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल पनि तत्काल खारेज गर्न पाँच शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दलले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि लिएको छ ।

गठबन्धनमा कुरा नमिलेपछि सिन्धुपाल्चोक, भोजपुर, धनकुटा र रामेछाप लगायतका केही स्थानीय तहका तालमेल खारेज हुने भएका हुन्।सिन्धुपाल्चोकमा नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रले, रामेछापमा पनि एमाले र माओवादी, भोजपुरमा कांग्रेस र एमाले, धनकुटा एमाले र माओवादीबीच तालमेल गरेर जाने सहमति भएको थियो।

यस्तै मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी र जसपाबीच पनि तालमेल गर्ने सहमति भएको थियो।७ सय ५३ स्थानीय तह बाँडफाँड गरेका गठबनधनले वडा तहसम्मै मिलेर चुनाव लड्ने समझदारी बनाएका थिए। तर स्थानीय तहमा सहमति नजुट्दा विवाद देखिएको छ।

प्रतिक्रिया दिनुहोस