Latest News

स्थानीय तहमा एमालेसँगको चुनावी तालमेल के हुन्छ ? गठबन्धन बैठकले गर्यो यस्तो निर्णय

Nepalese Times April 29, 2022 (1 Year ago)    481 Views

सत्तारुढ पाँच दलीय गठबन्धनको शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले पाँच दलमा भएको सहमतिविपरीत दर्ता गरिएका स्वतन्त्र उम्मेदवारी पनि तत्काल फिर्ता लिने निर्णय लिएको छ।

‘पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने’, निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने।’

पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल पनि तत्काल खारेज गर्न पाँच शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दलले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि लिएको छ ।

गठबन्धनमा कुरा नमिलेपछि सिन्धुपाल्चोक, भोजपुर, धनकुटा र रामेछाप लगायतका केही स्थानीय तहका तालमेल खारेज हुने भएका हुन्।सिन्धुपाल्चोकमा नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रले, रामेछापमा पनि एमाले र माओवादी, भोजपुरमा कांग्रेस र एमाले, धनकुटा एमाले र माओवादीबीच तालमेल गरेर जाने सहमति भएको थियो।

यस्तै मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी र जसपाबीच पनि तालमेल गर्ने सहमति भएको थियो।७ सय ५३ स्थानीय तह बाँडफाँड गरेका गठबनधनले वडा तहसम्मै मिलेर चुनाव लड्ने समझदारी बनाएका थिए। तर स्थानीय तहमा सहमति नजुट्दा विवाद देखिएको छ।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।

नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकताएहरुलाई आज बेलुका ५ बजेसम्म फिर्ता नलिए स्वत सदस्यता खारेज हुने पनि चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस