Latest News

कांग्रेसले भरतपुरको मेयरबाट उम्मेदवारी फिर्ता लिन चर्को दबाब दिएपछि पौडेलले दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 29, 2022 (7 Month ago)    1022 Views

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफू नेपाली कांग्रेसको बागी नभएको बताएका छन् ।

पौडेलले भने, “पहिलो कुरा म बागीसागी केही होइन । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा कुनै उम्मेदवारी दिएको छैन । भलै मैले नेपाली कांग्रेसको केन्द्रको लाइसेन्स पाएको छैन । तर मेरो उम्मेदवारी रुख र चार तारे झन्डा विरुद्ध होइन । कांग्रेसका साथीहरुको समर्थनमा उठेको हुँ । त्यसैले उम्मेदवारी फिर्ता लिने कुनै कारण देख्दिनँ ।”

आफूले स्थानीय तहमा उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकार नहल्लिने र भरतपुरमा मेयरका अरु ३२ जना स्वतन्त्र उम्मेदवार रहेको भन्दै यनले भने, ‘अरुले उम्मेदवारी दिँदा केही नहुने, मैले उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकारमा कसरी हलचल हन्छ ? मेरो उम्मेदवारीको गठबन्धनसँग कुनै साइनो छैन । हामीले त्यति कमजोर भएर सोच्नु हुन्न । किनभने त्यसको विधि, पद्धति र प्रक्रियामा म संलग्न छैन ।”

उनले कुनै पनि नेताले आफूलाई गलाउन या फकाउन नसक्ने भन्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्डलगायत गृहमन्त्री बालकृष्ण खाँड, उमेश श्रेष्ठलाई आफूले ‘सहयोग गर्नुस् सके, नसके म बबुरोलाई संवैधानिक हक प्रयोग गर्दा नरोक्नुस्’ भनेर जवाफ फर्काएको बताए ।

उनले प्रश्न गर्दै भने, ‘आफूले नागरिक अधिकार प्रयोग गर्न किन नपाउने ? मैले छाड्न मिल्ने, रेणु दाहालले किन नमिल्ने ? उहाँ त बहिनी, छोरी सरहको मान्छे हो । उहाँको समय छ । मलाई छाडिदिए हुन्छ नि । मलाई गलाउने, फकाउने कुरा छैन ।”

पौडेलले आफू पार्टीको कारबाही भोग्न तयार भएको पनि बताए । उनले आफू नेपाली कांग्रेसको सानो कार्यकर्ता भएको तर निष्ठाको सवालमा आपू सानो मान्छे नभएको बताए ।

सारा चितवन आफ्नो पछि लागेको भन्दै उनले भने, ‘भरतपुरमा चार तारे झन्डा र रुखको उम्मेदवारको छ ? मैले हँसिया, हथौडामा भोट हाल्दिनँ भन्दा कारबाही गर्न मिल्छ ? मलाई दोष दिन मिल्छ ?’

उनले आफू चितवन कांग्रेसको भावनाका निम्ति प्रतीक मात्र भएको भन्दै उनले आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताए । उनले बरु आफूले कारबाही भोग्न तयार हुने र त्यो आफूले सहने भन्दै राजीनामा दिनुपरे त्यसका लागि पनि आफू तयार रहेको बताए ।

आफू एमालेका अध्यक्ष केपी ओलीको उक्साहटमा नलागेको पनि उनले स्पष्टीकरण दिए । पौडेलले भने, “मैले कसैको आशीर्वाद पाएको भए निरन्तर सत्तामा हुन्थेँ । अथवा प्रधानन्यायाधीश भएर रिटायर हुन्थेँ होला । केपी ओलीलाई त म चिन्दा पनि चिन्दिनँ । म त आफू जित्नका लागि लडेको हुँ । कसैलाई हराउन मात्र होइन ।”

बिहीबार बसेको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठकले शुक्रबार बिहानसम्म बागीलाई उम्मेदवारी फिर्ता गराउन पहल जारी राख्ने निर्णय गरेको थियो ।

सोहीअनुसार समिति सदस्य र शीर्ष नेताले नै बागीसँग टेलिफोन सम्पर्क थालेका हुन् । कतिपय बागीले शीर्ष नेतासँगको टेलिफोन संवादपछि उम्मेदवारी फिर्ता लिन सहमति जनाएका छन् ।

समितिका सदस्यसचिव केशवराज जोशीका अनुसार बैठकमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगायत विषयमा छलफल भएको थियो । ‘केन्द्रबाट भएको ६ महानगर र ११ उपमहानगर तथा जिल्ला र प्रदेश तहबाट तालमेल भएका छन् । त्यसका बाबजुत पनि गठबन्धनमा रहेका दलहरूबाट विभिन्न ठाउँमा बागी उम्मेदवार कायम भएका छन्,’ उनले भने, ‘जुन दलबाट बागी उम्मेदवार उठेका छन्, तिनै दलले सम्झाउने–बुझाउने जिम्मा लगाइएको छ । पार्टीगत निर्णय भएर परेका उम्मेदवारी पार्टीले फिर्ता लिने, व्यक्तिगत रूपमा हालेकालाई सम्झाउने र नमानेकालाई शीर्ष नेतृत्वबाट शुक्रबार टुंग्याउने निर्णय भएको छ ।’

बैठकमा दलहरूले आ–आफ्नोतर्फबाट भएका बागी र असन्तुष्ट उम्मेदवारीबारे जानकारी गराएका थिए । भरतपुरमा प्रमुख माओवादीले पाएको, तर कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएको, पोखरा महानगरमा प्रमुख एकीकृत समाजवादीले पाए पनि कांग्रेस समर्थकले उम्मेदवारी दर्ता गराएको, जितपुर–सिमरा उपमहानगरमा माओवादीले प्रमुख पाएकोमा गठबन्धनकै अरू दलले उम्मेदवारी दिएको, विराटनगर महानगरमा कांग्रेसले प्रमुख पाएकोमा कांग्रेस छाडेका समर्थकले उम्मेदवारी दिएकोलगायत विषयमा बैठकमा रिपोर्टिङ भएको थियो ।

राष्ट्रिय जनमोर्चाका उपमहासचिव हिमाल पुरीले बैठकमा बागी उम्मेदवारीको नाम निकाल्नेबारे छलफल भएको बताए । ‘सबै पार्टीबाट बागी उम्मेदवारी परेको देखियो,’ उनले भने, ‘हाम्रो मुख्य चासोको विषय एमालेसँग तालमेल भएका स्थानमा हो । एमालेसँग माओवादीको बढी स्थानमा तालमेल भएको देखिएको छ,’ उनले भने, ‘सबै दलले उम्मेदवारी फिर्ता गर्ने वचन दिएका छन् ।’

नेता पुरीले जनमोर्चाले पाउने केही ठाउँमा माओवादी र एमाले मिलेको र काठमाडौंको चन्द्रागिरिमा जनमोर्चालाई दिने भनिएकोमा गठबन्धनकै दलहरूबाट उम्मेदवारी परेको बताए । उनले फिर्ता गराउन सबै दलबाट प्रयास भइरहेको र टुंगिन नसकेका स्थानमा शुक्रबार बिहान शीर्ष नेता बसेर निर्णय गर्ने सहमति भएको बताए ।

निर्वाचन आयोगले तोकेको समयभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह छ । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका साथ लाग्नसमेत उनको निर्देशन छ ।

संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भहरूलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता भएको देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस