Latest News

कांग्रेसका नेताहरुले बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासित हुने (विज्ञप्तिसहित)

Nepalese Times April 29, 2022 (1 Year ago)    650 Views

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता नगरे स्वतः पार्टीबाट निस्कासित गर्ने भएको छ । उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै कांग्रेसले यदि निर्देशन नमानेर उम्मेदवारी फिर्ता नगरे पार्टीबाट स्वतः निस्कासित गर्ने भनेको हो ।

यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसले एक विज्ञप्ति सार्वजनिक गर्दै चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित० को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।

हेर्नुस् प्रेस विज्ञप्ति

बिहीबार बसेको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठकले शुक्रबार बिहानसम्म बागीलाई उम्मेदवारी फिर्ता गराउन पहल जारी राख्ने निर्णय गरेको थियो ।

सोहीअनुसार समिति सदस्य र शीर्ष नेताले नै बागीसँग टेलिफोन सम्पर्क थालेका हुन् । कतिपय बागीले शीर्ष नेतासँगको टेलिफोन संवादपछि उम्मेदवारी फिर्ता लिन सहमति जनाएका छन् ।

समितिका सदस्यसचिव केशवराज जोशीका अनुसार बैठकमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगायत विषयमा छलफल भएको थियो । ‘केन्द्रबाट भएको ६ महानगर र ११ उपमहानगर तथा जिल्ला र प्रदेश तहबाट तालमेल भएका छन् । त्यसका बाबजुत पनि गठबन्धनमा रहेका दलहरूबाट विभिन्न ठाउँमा बागी उम्मेदवार कायम भएका छन्,’ उनले भने, ‘जुन दलबाट बागी उम्मेदवार उठेका छन्, तिनै दलले सम्झाउने–बुझाउने जिम्मा लगाइएको छ । पार्टीगत निर्णय भएर परेका उम्मेदवारी पार्टीले फिर्ता लिने, व्यक्तिगत रूपमा हालेकालाई सम्झाउने र नमानेकालाई शीर्ष नेतृत्वबाट शुक्रबार टुंग्याउने निर्णय भएको छ ।’

बैठकमा दलहरूले आ–आफ्नोतर्फबाट भएका बागी र असन्तुष्ट उम्मेदवारीबारे जानकारी गराएका थिए । भरतपुरमा प्रमुख माओवादीले पाएको, तर कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएको, पोखरा महानगरमा प्रमुख एकीकृत समाजवादीले पाए पनि कांग्रेस समर्थकले उम्मेदवारी दर्ता गराएको, जितपुर–सिमरा उपमहानगरमा माओवादीले प्रमुख पाएकोमा गठबन्धनकै अरू दलले उम्मेदवारी दिएको, विराटनगर महानगरमा कांग्रेसले प्रमुख पाएकोमा कांग्रेस छाडेका समर्थकले उम्मेदवारी दिएकोलगायत विषयमा बैठकमा रिपोर्टिङ भएको थियो ।

राष्ट्रिय जनमोर्चाका उपमहासचिव हिमाल पुरीले बैठकमा बागी उम्मेदवारीको नाम निकाल्नेबारे छलफल भएको बताए । ‘सबै पार्टीबाट बागी उम्मेदवारी परेको देखियो,’ उनले भने, ‘हाम्रो मुख्य चासोको विषय एमालेसँग तालमेल भएका स्थानमा हो । एमालेसँग माओवादीको बढी स्थानमा तालमेल भएको देखिएको छ,’ उनले भने, ‘सबै दलले उम्मेदवारी फिर्ता गर्ने वचन दिएका छन् ।’

नेता पुरीले जनमोर्चाले पाउने केही ठाउँमा माओवादी र एमाले मिलेको र काठमाडौंको चन्द्रागिरिमा जनमोर्चालाई दिने भनिएकोमा गठबन्धनकै दलहरूबाट उम्मेदवारी परेको बताए । उनले फिर्ता गराउन सबै दलबाट प्रयास भइरहेको र टुंगिन नसकेका स्थानमा शुक्रबार बिहान शीर्ष नेता बसेर निर्णय गर्ने सहमति भएको बताए ।

निर्वाचन आयोगले तोकेको समयभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह छ । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका साथ लाग्नसमेत उनको निर्देशन छ ।

संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भहरूलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता भएको देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस