Latest News

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष उम्मेदवार एकाएक एमालेमा प्रवेश

Nepalese Times April 29, 2022 (1 Year ago)    729 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका थिए। तर अचानक उनी एमालेमा प्रवेश गरेका हुन्।

माओवादी केन्द्रको गाउँपालिका इन्चार्ज समेत रहेका उम्मेदवार तेन्जिन छेसाङ तामाङले माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । माओवादी केन्द्रबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिनेगरी आफू एमालेमा प्रवेश गरेको उने प्रतिक्रिया दिएका छन् ।

उनीसँगै गोसाइँकुण्ड गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्। बिहीबार एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्।

यस्तै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनले नेकपा एकीकृत समाजवादीबाट राजीनामा दिएको भोलिपल्ट नै नेकपा एमोमा प्रवेश गरेका हुन् । एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् ।

उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए ।

यस्तै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई आज साँझ ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली पनि आज नै प्रकाशन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।

आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यसपछि १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस