Latest News

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एमालेमै फर्किए

Nepalese Times April 29, 2022 (1 Year ago)    631 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनले नेकपा एकीकृत समाजवादीबाट राजीनामा दिएको भोलिपल्ट नै नेकपा एमोमा प्रवेश गरेका हुन् । एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् ।

उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए ।

यस्तै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई आज साँझ ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली पनि आज नै प्रकाशन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।

आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यसपछि १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस