Latest News

उम्मेदवारी फिर्ता लिन भन्दै जगन्नाथलाई देउवाको एकाबिहानै टेलिफोन, के–के भयो कुराकानी ?

Nepalese Times April 29, 2022 (2 Year ago)    1341 Views

काठमाडौं । चर्चाको केन्द्रमा रहेको चितवनको भरतपुर महानरपालिकामा कांग्रेस नेता जगन्नाथ पौडेलले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले पार्टीको निर्णय विपरित मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भरतपुरमा नेपाली कांग्रेससहित सत्तँ गठबन्धनका दलहरुको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी रेनु दाहालको उम्मेदवारी परेको छ । केन्द्रबाट रेनुलाई सहयोग गर्न पौडेललाई कडा दबाब आइरहेपछि उनले भने पछि नहट्ने अडान लिएका छन् ।

उम्मेदवारी फिर्ता गर्ने कार्यतालिकाअगाडि सत्तागठबन्धनका शीर्ष नेता बागीलाई केन्द्रबाटै सम्झाउने रणनीतिमा लागेका छन् । शुक्रबार बिहानसम्म विभिन्न तहबाट बागीलाई सम्झाउने, तर उम्मेदवारी फिर्ता लिन आनाकानी गरे कारबाही चलाउने शीर्ष नेताहरूको तयारी छ ।

यहि तयारी अनुसार भरतपुर महानगरपालिकाको मेयर पदबाट उम्मेदवारी फिर्ता गर्न भन्दै नेपाली कांग्रेसका सभापतिरमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई दबाब दिइरहेकाम छन् ।

देउवाले एकाबिहानै टेलिफोन गरेर पौडेललाई आज साँझसम्ममा उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् । देउवाले पौडेललाई एकाबिहानै टेलिफोनमा भने, ‘तपाईको कारणले गठबन्धन नै धरापमा पर्ने देखियो । भरतपुरको कारण देशभरको अवस्था विग्रनु भएन । आज साँझसम्ममा तपाईले उम्मेदवारी फिर्ता गर्नुपर्यो ।’

देउवाले पौडेलाई फेरि भने, ‘भरतपुर चितवनको समस्याबारे म जानकार छु । अबका दिनहरुमा तपाईहरुलाई समस्या हुन दिन छैन । अरु विकल्पमा हामी छलफल गरेर अघि बढ्न तयार छौँ । तपाईले उम्मेदवारी फिर्ता लिइदिनुपर्यो । कसरी कुन ठाउँमा सम्बोधन गर्नुपर्छ म तयार छु ।’

यस्तै देउवाले पौडेललाई उम्मेदवारी फिर्ता नगर्ने हो भने पार्टीले कारबाही गर्नेसमेत चेतावनी दिएका छन् । जवाफमा पौडेलले भने बरु आफू कारबाही भोग्न तयार भएको तर उम्मेदवारी भने कुनै पनि हालतमा फिर्ता नहुँने अडान लिएका प्रधानमन्त्री देउवा निकट एक नेताले बताए ।

बिहीबार बसेको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिको बैठकले शुक्रबार बिहानसम्म बागीलाई उम्मेदवारी फिर्ता गराउन पहल जारी राख्ने निर्णय गरेको थियो ।

सोहीअनुसार समिति सदस्य र शीर्ष नेताले नै बागीसँग टेलिफोन सम्पर्क थालेका हुन् । कतिपय बागीले शीर्ष नेतासँगको टेलिफोन संवादपछि उम्मेदवारी फिर्ता लिन सहमति जनाएका छन् ।

समितिका सदस्यसचिव केशवराज जोशीका अनुसार बैठकमा स्वतन्त्र उम्मेदवारी फिर्ता गराउनेलगायत विषयमा छलफल भएको थियो । ‘केन्द्रबाट भएको ६ महानगर र ११ उपमहानगर तथा जिल्ला र प्रदेश तहबाट तालमेल भएका छन् । त्यसका बाबजुत पनि गठबन्धनमा रहेका दलहरूबाट विभिन्न ठाउँमा बागी उम्मेदवार कायम भएका छन्,’ उनले भने, ‘जुन दलबाट बागी उम्मेदवार उठेका छन्, तिनै दलले सम्झाउने–बुझाउने जिम्मा लगाइएको छ । पार्टीगत निर्णय भएर परेका उम्मेदवारी पार्टीले फिर्ता लिने, व्यक्तिगत रूपमा हालेकालाई सम्झाउने र नमानेकालाई शीर्ष नेतृत्वबाट शुक्रबार टुंग्याउने निर्णय भएको छ ।’

बैठकमा दलहरूले आ–आफ्नोतर्फबाट भएका बागी र असन्तुष्ट उम्मेदवारीबारे जानकारी गराएका थिए । भरतपुरमा प्रमुख माओवादीले पाएको, तर कांग्रेस कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएको, पोखरा महानगरमा प्रमुख एकीकृत समाजवादीले पाए पनि कांग्रेस समर्थकले उम्मेदवारी दर्ता गराएको, जितपुर–सिमरा उपमहानगरमा माओवादीले प्रमुख पाएकोमा गठबन्धनकै अरू दलले उम्मेदवारी दिएको, विराटनगर महानगरमा कांग्रेसले प्रमुख पाएकोमा कांग्रेस छाडेका समर्थकले उम्मेदवारी दिएकोलगायत विषयमा बैठकमा रिपोर्टिङ भएको थियो ।

राष्ट्रिय जनमोर्चाका उपमहासचिव हिमाल पुरीले बैठकमा बागी उम्मेदवारीको नाम निकाल्नेबारे छलफल भएको बताए । ‘सबै पार्टीबाट बागी उम्मेदवारी परेको देखियो,’ उनले भने, ‘हाम्रो मुख्य चासोको विषय एमालेसँग तालमेल भएका स्थानमा हो । एमालेसँग माओवादीको बढी स्थानमा तालमेल भएको देखिएको छ,’ उनले भने, ‘सबै दलले उम्मेदवारी फिर्ता गर्ने वचन दिएका छन् ।’

नेता पुरीले जनमोर्चाले पाउने केही ठाउँमा माओवादी र एमाले मिलेको र काठमाडौंको चन्द्रागिरिमा जनमोर्चालाई दिने भनिएकोमा गठबन्धनकै दलहरूबाट उम्मेदवारी परेको बताए । उनले फिर्ता गराउन सबै दलबाट प्रयास भइरहेको र टुंगिन नसकेका स्थानमा शुक्रबार बिहान शीर्ष नेता बसेर निर्णय गर्ने सहमति भएको बताए ।

निर्वाचन आयोगले तोकेको समयभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह छ । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका साथ लाग्नसमेत उनको निर्देशन छ ।

संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भहरूलाई मजबुत बनाउनु आजको सर्वाधिक आवश्यकता भएको देउवाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस