Latest News

उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने, भरतपुरमा पौडेलले के गर्लान् ?

Nepalese Times April 29, 2022 (1 Year ago)    664 Views

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।

निर्वाचन आयोगले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई आज साँझ ५ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली पनि आज नै प्रकाशन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

ती उम्मेदवारीमाथि परेका दावी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको थियो ।

आज उमेदवारी फिर्ता लिन चाहनेले आफ्नो नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । त्यसपछि १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

चर्चामा रहेको चितवनको भरतपुर महानरगपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल साझा उम्मेदवारको रुपमा रहेकी छिन् । तर, पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् ।

उनको उम्मेदवारी फिर्ताका लागि केन्द्रबाट ठूलो दबाब परिरहेको छ । तर, उनले उम्मेदवारी फिर्ता नलिने अडान राखिरहेका छन् । निर्वाचन आयोगले दिएको आज साँझसम्मको समयमा उनले उम्मेदवारी फिर्ता लिने या नलिनेबारे मानिसहरुमा चासोको विषय बनिरहेको छ ।

देशभर रहेका ६ महानगरपालिकामध्ये ३ महानगरपालिकामा का्रग्रेस र अरु ३ महानगरपालिकामा अरु पार्टीका उम्मेदवार साझा उम्मेदवारको रुपमा खडा भएका छन् । धेरैजसो पालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरु बागीको रुपमा खडा भएका छन् ।

प्रतिक्रिया दिनुहोस