Latest News

रेनु दाहालविरुद्व बागी उठेका पौडेललाई देउवा र प्रचण्डको फोन, के-के भयो कुराकानी ?

Nepalese Times April 28, 2022 (1 Year ago)    688 Views

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले बागी उम्मेदवारी दिएका हुन् ।

उनले बागी उम्मेदवारी दिएसँगै सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहाललाई असर पर्ने देखिएपछि उम्मेदवार पौडेललाई मनाउन विभिन्न प्रयासहरु भइरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले पौडेललाई मनाउन र बागी उम्मेदवारी फिर्ता गर्न लगाउन भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई चितवन पठाएका छन् ।

यस्तै मनोनयन दर्ता गराएका मेयर पदका उम्मेदवार पौडेललाई प्रधानमन्त्री एवम् पार्टी सभापति स्वयम्ले पनि टेलिफोन गरेका छन् । उनले अहिलेको अवस्थालाई बुझेर बागी उम्मेदवारी फिर्ता लिन पौडेललाई आग्रह गरेका थिए ।

बागी उम्मेदवारीबाट पछि हट्न तीव्र दबाब परिरहेका बेला पौडेललाई बुधबार मात्रै देउवाले फोन गरेर काठमाडौं आउन भनेका थिए। तर, पौडेलले भरतपुरका कांग्रेस कार्यकर्ता र मतदाताको आग्रहमै आफूले उम्मेदवारी दिएको बताउँदै बरु रेनुलाई पछि हटाउन जवाफ दिएका छन्।

उनले आफूलाई बागीबाट पछि हट्न आग्रहसहित काठमाडौं आएर कुरा मिलाउन भने पनि नमानेको बताएका छन। ‘त्यसपछि उहाँले अब सबै कुरालाई हेरेर बोलाएको बताउनु भयो’, उनले थपे, ‘मैले म आउन सकिँन, अहिलेलाई भनेको छु।’

पौडेललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि टेलिफोन गरेका छन्।

मंगलबार सुटुक्क भरतपुर पुगेका प्रचण्डसँग आफ्नो भेट नभएको पनि उनले बताए। ‘होइन, उहाँसँग मेरो भेट भएको छैन। उहाँले मलाई टेलिफोन गर्नुभएको थियो’, उनले भने, ‘यहाँ तपाईंले छाडेर अवस्था सहज बनाउनुपर्यो भन्नुभयो।’

तर उनले उल्टै रेनुलाई पछि हटाएर आफ्ना लागि सहज बनाइदिन आग्रह गरेको बताए। ‘तपाईंहरुले पनि त्यो कुरा छाडेर मलाई सहज बनाइदिँदा हुन्छ भनेर मैले आफ्नो कुरा राखेको छु’, उनले भने, ‘म पछि हट्दिँन, अब रेनुले मलाई छाडिदिनुपर्छ।’

सभापति देउवाले बागी उमेदवारी दिएका उमेदवारले १६ वैशाखसम्म उमेदवारी फिर्ता लिने समय रहेकोले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उमेदवारी फिर्ता लिन आग्रह गरेका छन् । स्वतन्त्र उमेदवारी दिएका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिने विश्वास रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस