Latest News

काँग्रेस सांसदले दिए राजीनामा

Nepalese Times April 28, 2022 (1 Year ago)    457 Views

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन्।

बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे उनले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका छन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफूहरुलाई पेलेको भन्दै मल्ल समूह रुष्ट बनेको थियो।

केही दिन अघिमात्र नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहनेगरि उनलाई कारबाही गरेको थियो। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उनले आफू निकट नेता कार्यकर्तालाई नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गर्न लगाएका छन्।

उक्त समूहले नेकपा एमालेसँग गठबन्धन समेत गरेको छ। उनीसँगै कांग्रेसको एक समूहले कांग्रेस परित्यागको घोषणा गर्ने तयारी गरेका छन्।

कांग्रेसको १४ औं महाधिवेशनदेखि नै मल्ल र सभापति शेरबहादुर देउवा पक्षबीच डडेल्धुरामा विभिन्न विषयमा विवाद थियो। मल्ल पक्षबिनै कांग्रेसले डडेल्धुरामा अधिवेशनसमेत गरेको थियो।

पार्टीविपरीत गतिविधि गरेको भन्दै कांग्रेसले आज सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्ललाई कांग्रेसको सदस्यबाट निकालेको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको उल्लेख गरेका छन्।

‘कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस