Latest News

भरतपुरका बागी फकाउँन घरमै पुगे गृहमन्त्री र राज्यमन्त्री, के-के भयो कुराकानी ?

Nepalese Times April 28, 2022 (1 Year ago)    847 Views

भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेताहरुलाई हम्मे परेको छ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्ने समय आज सकिँदै गर्दा कांग्रेसको समर्थनमा दोहोरिन तयार माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध बागी दिएका पूर्वसांसद पौडेललाई फकाउन सभापति शेरबहादुर देउवाले एकपछि अर्का दूत पठाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेलको भरतपुर महानगरपालिका-७ स्थित घरमा बिहानै पुगेका छन्।

उनीहरु दुवैले बागी उम्मेदवार पौडेलसँग उनको घरमै वार्ता गरेका छन्। उक्त वार्तामा बागी उम्मेदवार पौडेललाई मनोनयनमा प्रस्ताव गरेका पाका कांग्रेस नेता कृष्णलाल सापकोटा पनि सहभागी थिए।

गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन् ।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर(७ स्थित पौडेल निवास पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताए । आफूले दिएको उम्मेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए ।

तर मन्त्री श्रेष्ठले भने पौडेल पछि हट्न सकारात्मक रहेको पत्रकारहरुलाई बताएका छन्।

यस्तै चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका नेता मिलाउन पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग भेट गरेका छन् ।

भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक रहेका सापकोटालाई भेटेर खाणले उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन् । गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता बनेको भन्दै गृहमन्त्री खाणले भरतपुरका कारण देशैभरी कांग्रेसलाई समस्या पर्ने भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् ।

जवाफमा सापकोटाले भरतपुरका कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको भन्दै उम्मेदवारी यथावत रहने बताएका छन् ।

भरतपुरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको छ।

यो तालमेलका कारण पाँच दलीय गठबन्धनलाई चुनौती बढेको छ। एकातिर राप्रपा-एमाले तालमेल अर्कातिर कांग्रेसबाटै बागी उठेपछि सत्ता गठबन्धनलाई तनाव बढेको छ।

यसैबीच कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारी दिएका पार्टीका नेता-कार्यकर्तालाई फिर्ता गर्न आग्रह गरेका छन्। ​

बिहीबार बिहान विज्ञप्ति निकालेर उनले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई फिर्ता गर्न फिर्ता लिन आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस