Latest News

काठमाडौँमा उपत्यकामा माओवादी केन्द्रले खाता खोल्यो, एक उम्मेदवार निर्विरोध निर्वाचित

Nepalese Times April 28, 2022 (1 Year ago)    1048 Views

स्थानीय तह निर्वाचनमा काठमाडौँ उपत्यकामा माओवादी केन्द्रले खाता खोलेको छ।  काठमाडौंको शंखरापुर नगरपालिकामा एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् ।

शंखरापुर नगरपालिकाको वडा नम्बर २ मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी मनिषा परियार ‘वर्षा’ निर्विरोध निर्वाचित भएकी हुन् । २ नम्बर वडामा अन्य दलबाट दलित महिला सदस्य पदको कुनैपनि उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालय शंखरापुर जनाएको छ ।

यसैबीच शंखरापुर नगरपलिकामा विना गठबन्धन दलहरु चुनावी प्रक्रियामा अघि बढेका छन् । काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलले आ–आफ्नो प्यानल सहितको उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै पाल्पामा नेकपा एमालेका दुई उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन् ।

मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुवै महिला निर्विरोध निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिका २ जाल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नम्बर ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएका हुन् ।

एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवैजनालाई उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध हुने भएका छन् । इच्छाकामना गाउँपालिका–१ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी गरेको हो ।

स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ ।

इच्छाकामना गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट दानबहादुर गुरुङ र उपाध्यक्षमा माया सिलवाल उम्मेदवार बनेका छन् । त्यस्तै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा काँग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको उम्मेदवार निर्विरोध निर्वाचित हुने भएपछि निर्वाचनमा हौसला मिलेको एमाले इच्छाकामना अध्यक्ष कृष्ण सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस