Latest News

भरतपुरका बागी उम्मेदवारका प्रस्तावकको घरमै पुगे गृहमन्त्री, के-के भयो कुराकानी ?

Nepalese Times April 28, 2022 (1 Year ago)    870 Views

काठमाडौं – चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका नेता मिलाउन पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग भेट गरेका छन् ।

भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक रहेका सापकोटालाई भेटेर खाणले उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन् । गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता बनेको भन्दै गृहमन्त्री खाणले भरतपुरका कारण देशैभरी कांग्रेसलाई समस्या पर्ने भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् ।

जवाफमा सापकोटाले भरतपुरका कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको भन्दै उम्मेदवारी यथावत रहने बताएका छन् ।

गृहमन्त्री खाणले लंकुस्थित सापकोटाको निवासमै पुगेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् ।

यस्तै राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पौडेलकै घरमा पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ताबारे छलफल गरेका हुन् । छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै राज्यमन्त्री श्रेष्ठले जगन्नाथ पौडेल सकारात्मक रहेको बताए ।

‘उहाँ पोजेटिभ हुनुहुन्छ । थप कुरा हुन्छ त्यसपछि निर्क्यौल हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ, छलफलपछि निचोड निस्किन्छ ।’

राज्यमन्त्री श्रेष्ठले आफू चितवनबाटै पार्टी केन्द्रीय सदस्य भएकोले पार्टीमा समस्या परेकोबेला समाधान गर्न जिल्ला आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस