Latest News

भरतपुरको मेयरमा बागी दिएका पौडेललाई देउवाको टेलिफोन, के–के भयो कुराकानी ?

Nepalese Times April 27, 2022 (1 Year ago)    1987 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले बागी उम्मेदवारी दिएका हुन् ।

उनले बागी उम्मेदवारी दिएसँगै सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहाललाई असर पर्ने देखिएपछि उम्मेदवार पौडेललाई मनाउन विभिन्न प्रयासहरु भइरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले पौडेललाई मनाउन र बागी उम्मेदवारी फिर्ता गर्न लगाउन भन्दै गृहमन्त्री बालकृष्ण खाँडलाई चितवन पठाएका छन् ।

यस्तै मनोनयन दर्ता गराएका मेयर पदका उम्मेदवार पौडेललाई प्रधानमन्त्री एवम् पार्टी सभापति स्वयम्ले पनि टेलिफोन गरेका छन् । उनले अहिलेको अवस्थालाई बुझेर बागी उम्मेदवारी फिर्ता लिन पौडेललाई आग्रह गरेका थिए ।

अहिले उम्मेदवारी फिर्ता नलिने हो भने नेकपा एमालेले जित्न सक्ने अवस्था रहेको र आफूहरुलाई झन अप्ठ्यारो पर्ने भन्दै देउवाले पौडेललाई टेलिफोनबाटै मनाउने प्रयास गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जवाफमा उम्मेदवार पौडेलले आफूहरुले कार्यकर्ताको विद्रोह थेग्न नसक्ने र जहिले पनि माओवादीलाई नै जिताएर पठाउन नसक्ने भनेका थिए । उनले आफूहरुको मागबारे पुनर्विचार गरे आफू पनि लचिलो भएर अघि बढ्ने बताएका थिए ।
यसअलगत्तै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुको मागबारे बुझेर आवश्यक सम्बोधन गर्न भन्दै देउवाले खाँडलाई चितवन पठाएका हुन् । सत्ता गठबन्धनबाट महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन मन लिएर आफू चितवन आउनुपरेको बताएका छन् ।

असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरुलाई सम्मान गर्न सकियोस्। गठबन्धन गर्दा कहिलेकाँही आफूले चाहेजस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ ।’

उनले थपे, ‘एक कदम पछाडि पनि हट्नुपर्छ । संविधान र लोकतन्त्रको लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ त्यस्तै खाँणले गठबन्धनका कारण पार्टीका मतदाता नगुम्ने उनले दाबी गरे ।

चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपील गर्ने भन्ने सबैसँग परामर्श गरेर अघि बढ्ने उनले बताए ।

बागी उमेदवारी दिएका उमेदवारले १६ वैशाखसम्म उमेदवारी फिर्ता लिने समय रहेकोले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उमेदवारी फिर्ता लिन आग्रह गरिने उनले बताए । स्वतन्त्र उमेदवारी दिएका उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिने विश्वास रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस