Latest News

नेपालमा फेरि १२ घण्टासम्म लोडसेडिङ हुने, प्राधिकरणले दियो यस्तो सूचना

Nepalese Times April 27, 2022 (2 Year ago)    786 Views

नेपालमा फेरि लोडसेडिङ सुरु भएको छ । भारतले चाहे जतिको  बिजुली दिन छोडेपछि  लोडसेडिङ सुरु भएको हो।  नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा र भारतीय बजारमा बिजुलीको माग बढ्दा आपूर्ति प्रणाली खलबलिन पुगेको जानकारी दिए ।

हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

तर, अप्रिल लागेसँगै भारतीय बजारमा बिजुलीको माग ह्वात्तै बढेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको भारतको माग हाल २ लाख मेगावाट पुगेको छ । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङले बताए ।

‘हिजो मंगलबार एक्सचेन्ज बजारमा ४५ हजार करोड युनिट बिजुली माग थियो,’ घिसिङले भने, ‘तर, बिक्रीमा जम्मा ६ करोड युनिट मात्र बिजुली राखियो ।’ सोही कारण हाल भारतबाट बिजुली ल्याउनै मुस्किल भएकाले नेपालको माग धान्न सक्ने स्थिति नरहेको उनले बताए ।

भारतबाट नेपालले ३ माध्यमबाट बिजुली किन्दै आएको छ । एक्सचेन्ज बजार, राज्य सरकार बिहार र पावर ट्रेड कर्पोरेसनबाट बिजुली किन्दै आएको छ । तर, अहिले भारत नै बिजुली सङ्कटबाट गुज्रिदा यी तिनै माध्यमबाट बिजुली किन्न सकिएको छै ।

एक्सचेन्ज बजारमा मागेजति बिजुली लिन नसकिरहेको स्थितिमा बिहार सरकारले पनि विगत १ महिनादेखि नेपाललाई रातिको समयमा बिजुली दिन सकेको छैन । यस्तै पछिल्लो २/३ दिनदेखि दिउँसो पनि बिजुली दिन नसक्ने जानकारी प्राधिकरणलाई दिइसकेको छ । यससँगै वैशाख महिनाभर बिजुली सङ्कट हुने प्राधिकरणको भनाई छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य ४ गुणासम्म बढेको छ । रुस-युक्रेन युद्धका कारण विश्वभर यसको मूल्य उकालो लागिरहेको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्य कीर्तिमानी मूल्यमा बढ्दा ढुवानी लागत समेत बढेको छ भने कोरोना महामारीका कारण आपूर्ति प्रणाली नै खलबलिएको छ ।

सोहीकारण कोइलाबाट चल्ने भारतका पावर प्लान्टले मागेजति कोइला नपाएपछि उत्पादन कटौती गरेका छन् । यसका साथी भारतमा अहिले बिजुलीको माग ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस