Latest News

एउटै नगरपालिकामा श्रीमान-श्रीमती प्रमुख र उपप्रमुख उम्मेदवार

Nepalese Times April 27, 2022 (1 Year ago)    574 Views

चुनावमा अनेक दृश्यहरु देख्न पाईन्छ । यसअघिका चुनावहरुमा जस्तै यो पटकमा पनि विभिन्न दृश्यहरु बाहिर आएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत नेताहरुले आफ्ना नातागोतालाई टिकट दिएको समाचार आइरहँदा संखुवासभामा एकै घरबाट दुईजना प्रमुख र उपप्रमुखमा उठेका छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको तर्फबाट संखुवासभाको खाँदबारी नगरपालिकाको प्रमुख र उप प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

लामो समय शिक्षण पेशामा आवद्ध रहेर अवकाश पाएका सीताराम तिम्सिना र पत्नी मैयादेवी तिम्सिनाले नगरको प्रमुख र उपप्रमुखमा मनोनयन गराएका हुन्। उनीहरुले यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आवद्ध भएर सक्रिय राजनीति गरेका थिए।

उनीहरुको घर पहिले खाँदबारीकै ढुंगेधारा हो। अहिले उनीहरू खाँदबारी बजारकै घिमिरे गाउँ जाने टोलमा बस्छन्। सीतारामलाई जनयुद्धका बेला संकटकालमा माओवादी आरोपमा नेपाली सेनाले यातना दिएको थियो। खाँदबारीमा जसपाबाट सीतारामसँगै मुख्य दल र स्वतन्त्र गरी ९ जनाले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन्।

यस्तै स्थानीय तहको चुनावका लागि बर्दियामा ससुरा र बुहारी तथा श्रीमान र श्रीमती उम्मेदवार बनेका छन् । फरक राजनीतिक दलबाट गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षमा बलबहादुर थारु उमेदवार बनेका छन् । उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी भने नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा उमेदवार बनेकी हुन् । २०७४ को स्थानीय निर्वाचनमा पनि बलबहादुर वडाध्यक्षको उमेदवार थिए । उनी दुई मतले पराजित भएका थिए ।

यस्तै राजापुर नगरपालिकामा एउटै पार्टीबाट श्रीमान र श्रीमतीले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरपालिकाको प्रमुखमा राममणि उपाध्यायले उम्मेदवारी दिएका छन् भने उनकी श्रीमती सम्झना उपाध्यायले उपप्रमुखमा उमेदवारी दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस