Latest News

अध्यक्ष उम्मेदवारबाटै आत्महत्याको प्रयास, उजुरी दर्ता

Nepalese Times April 27, 2022 (1 Year ago)    613 Views

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बुटवल वडा नं २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी परेको छ ।

२०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

आत्महत्या गर्नु अपराध सरह हुने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार वडाअध्यक्षका उम्मेदवार नेपालविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । यस्तै बुटवल उपमहानगरमा नेपालसहित पाँच जना वडाअध्यक्ष उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

नेपाली कांग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको निर्वाचन कार्यलयले जनाएको छ । यसैगरी कांग्रेसबाटै वडा न. ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्माविरुद्ध टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुरी परेको छ ।

त्यसैगरी अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समितिमा रहेको र आर्थिक दुरुपयोग गरेको भन्दै उजुरी परेको हो । बुटवल निर्वाचन अधिकृतको कार्यालले मंगलबार साँझ पाँच बजेसम्म उजुरी गर्ने समय तोकेको थियो ।

यस्तै सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ ।उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए ।

उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जानकारी दिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वडाध्यक्षसहित छ वडा सदस्य र नेपाली कांग्रेसको एक वडा सदस्यको पनि उम्मेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलामाई–४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुकुमार श्रेष्ठको प्रस्तावकको विवरण नभिड्दा उमेदवारी दर्ता भएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं ११ मा वडाध्यक्षमा उम्मेदवारी दिएका मेमबहादुर ठकुरीको पनि सर्मथकको विवरण नभिड्दा उम्मेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा वडा नं २ मा सदस्यमा उम्मेदवारी दर्ता गराएका सोमाया सार्की, वडा नं ११ मा वीरबहादुर माझी, वडा नं १२ मा वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएका ढालबहादुर विक, वडा नं १ का लक्ष्मण सुनुवार, वडा नं १० मा वडासदस्य पदमा उम्मेदवारी दिएका उज्ज्वल कोइराला र वडा नं ४ मा मान्दोसिं भोलनले दिएको वडासदस्य पदको उम्मेदवारी प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस