Latest News

टिकट वितरणमा चलखेल भएको छ, अहिले सबै थाँती राखेर पार्टीको मुल प्रवाहमा फर्कौं – शेखर कोइराला

Nepalese Times April 27, 2022 (2 Year ago)    674 Views

काठमाडौं । स्थानीय तहको निर्वाचनमा टिकट वितरणको विषयमा असन्तुष्टि जनाउँदै धेरै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टी छाडे । कतिपयले त स्वतन्त्र उम्मेदवारी नै घोषणा गरेका छन् ।

सत्ता गठबन्धनबीच चुनावी तालमेल भएसँगै नेपाली कांग्रेसको भागमा नपरेका पालिकाहरुमा कांग्रेसका नेताहरुले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

पार्टीभित्रको असन्तुष्टिकै कारण नेता गुरुराज घिमिरेले पनि आफ्नो राजनीतिक जीवनलाई स्थगित गरेर राजनीतिबाट सन्यास लिने संकेतसमेत गरेका छन् । उनले सामाजिक संजालबाट नै अब यसरी नेपाली कांग्रेस पार्टीमा बसेर राजनीति गर्न नसक्ने भनेका छन् ।

पार्टीभित्र देखिएको तिब्र असन्तुष्टिका कारण पार्टी परित्यागको क्रम नरोकिएको र आर्थिक चलखेल र अनियमितता भएको भन्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एक विज्ञप्ति सार्वजनिक गरेका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गरेर जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित भएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्ने कुरा दुःखद भएको बताएका छन् ।

यस्तै उनले स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएकाहरुलाई पनि कांग्रेसको मुल प्रबाहमा फर्कन आग्रह गरेका छन् ।

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरुले भोगिरहेका भन्दै उनले अहिले चुनावको समयमा सबै पार्टीको मुल प्रवाहमा आउनुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरुको पंक्ति लामो भएको र अधिकांश योग्य र सक्षम पनि रहेका भन्दै उनले त्यसैका कारण कांग्रेस देशको सबैभन्दा पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज नभएको भनेका छन् ।

टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने भनेर आफूहरुले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच कुरा उठाएको भन्दै उनले तर त्यसलाई ध्यानपूर्वक नसुनिएको बताए ।

पार्टीको निर्णयमा असहमत भएकै कारण धेरै कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै उनले त्यस्ता कांग्रेसीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएको बताएका छन् ।

पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्ने भन्दै उनले नेता तथा कार्यकर्ताको राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग आफू संवेदनशील रहेको बताए ।

पार्टी भित्र न्यायको पक्षमा आफू निरन्तर आवाज उठाइरहने भन्दै उनले आफूहरु कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै तर पनि लडिरहने प्रतिवद्धता जनाएका छन् ।

अहिले सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु परेको भन्दै उनले स्थानीय निर्वाचनको सकारात्मक परिणामले अगाडिका दुई निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिने भन्दै उनले अहिले आफूहरुको अगाडि निर्वाचन रहेको र पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छाती भित्र राखी कांग्रेसको विजयी अभियानमा होमिनुपर्ने बताए ।

कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचन पछि पार्टीभित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिने भन्दै उनले सोही अनुरुप पार्टी सुधारको प्रकृयामा उभिने दृढता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस