Latest News

उपमेयरमा गठबन्धनबाट माओवादीका यी उम्मेदवारको उम्मेदवारी रद्द, एमालेलाई फाईदा

Nepalese Times April 27, 2022 (1 Year ago)    1696 Views

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ ।

उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए ।

उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए । मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जानकारी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वडाध्यक्षसहित छ वडा सदस्य र नेपाली कांग्रेसको एक वडा सदस्यको पनि उम्मेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलामाई–४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुकुमार श्रेष्ठको प्रस्तावकको विवरण नभिड्दा उमेदवारी दर्ता भएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं ११ मा वडाध्यक्षमा उम्मेदवारी दिएका मेमबहादुर ठकुरीको पनि सर्मथकको विवरण नभिड्दा उम्मेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा वडा नं २ मा सदस्यमा उम्मेदवारी दर्ता गराएका सोमाया सार्की, वडा नं ११ मा वीरबहादुर माझी, वडा नं १२ मा वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएका ढालबहादुर विक, वडा नं १ का लक्ष्मण सुनुवार, वडा नं १० मा वडासदस्य पदमा उम्मेदवारी दिएका उज्ज्वल कोइराला र वडा नं ४ मा मान्दोसिं भोलनले दिएको वडासदस्य पदको उम्मेदवारी प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता भएको छैन ।

यस्तै नेपाली कांग्रेसबाट वडा नं ९ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका टीकाप्रसाद घिमिरेको पनि प्रस्तावकको विवरण नभिड्दा उम्मेदवारी दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए ।

यस्तै नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार दिएकी शिल्पा निराला कार्कीले कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छिन् ।

कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगर उपप्रमुखमा उम्मेदवारी दिएको उजुरी परेपछि नेकपा एमालेकी उम्मेदवार कार्कीले मंगलबार राजीनामा दिएकी हुन् । सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन्।

कार्कीलाई केपी ओली नेतृत्वको सरकारले अस्पतालमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ मा उनीसहितका सबै पदाधिकारीलाई हटाएको थियो।

सरकारको निर्णयविरूद्ध कार्कीसहितका पदाधिकारी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले उनीहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनःबहाली भएका थिए।

त्यसपछि राजीनामा नदिई उनी उम्मेदवार बनेको उजुरी परेको थियो । कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले बताए।

नेकपा एमालेका नेताहरूले भने फागुनमा राजीनामा दिएको भनेर दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पतालकै एक कर्मचारीले बताएका छन् । कार्कीसहित चार जना उम्मेदवारविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले बताएका छन्।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ। उनीमाथि थप अनुसन्धान भइरहेको बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस