Latest News

स्थानीय चुनावः विप्लव नेतृत्वको नेकपाले पनि खाता खोल्यो, अध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित

Nepalese Times April 26, 2022 (1 Year ago)    678 Views

काठमाडौं । मनाङको नेस्याङ गाउँपालिकाको वडा नम्बर ९ खाङसारमा विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिएका च्योल्पा गुरुङ निर्वाचित भएका छन्।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गुरुङ वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भनिको भन्दै प्रचार गरिएको थियो। गुरुङले आफू विप्लव नेतृत्वको नेकपाबाट उम्मेदवार बनेको बताएका छन् ।

यस्तै रोल्पाका १० पालिकामध्ये ९ पालिकामा सबै पदाधिकारी, वडाध्यक्ष र सदस्यमा विप्लव समूहका कार्यकर्ताले मनोनयन दर्ता गराएका छन् ।

त्यतै अन्य जिल्लामा पनि नेकपाका कार्यकर्ताले तालमेल गरेर त कतै एक्लै उम्मेदवारी दिएका छन् । तर, चुनाव बहिष्कार गर्दै आएको नेकपाकै अर्को समूहले भने उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

‘उम्मेदवारमा नउठ्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भाग लिने विषयमा सहमति नबनेपछि नेकपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको छ । यद्यपि, एउटा समूहले भने चुनावमा भाग लिने विषयमा आपत्ति जनाएको छ ।

केन्द्रीय सदस्य अनिल शर्मा विरहीले देशैभरि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरिएको बताएका छन् । ‘देशैभरि उम्मेदवारी दर्ता भए पनि कति संख्यामा उम्मेदवारी दर्ता भयो भन्ने तथ्यांक उपलब्ध भइसकेको छैन, कहाँ–कहाँ दर्ता भयो भन्ने तथ्यांक आउन समय लाग्छ,’ उनले भने ।

उनका अनुसार इलाममा पाँचवटा गाउँपालिका र केही वडामा उम्मेदवारी दर्ता भएको छ । झापाको दमक, भद्रपुर, गौरादहलगायतका पालिकामा उम्मेदवार दर्ता गरेको उनको भनाइ छ । धनुषाको मिथिला र छिरेश्वर नगरपालिकामा पनि उम्मेदवारी दर्ता गरिएको छ । उदययुरको त्रियुगा नगरपालिकामा मोहन वैद्य नेतृत्वको माओवादीको उम्मेदवारलाई समर्थन गरिएको शर्माले जानकारी दिए ।

चितवनको रत्ननगर नगरपालिकाको मेयरमा मीनप्रसाद सापकोटालाई उम्मेदवार बनाइएको शर्माले बताए । त्यसैगरी भरतपुर महानगरपालिकाको मेयरमा दुर्गा सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् ।

चितवनकै माडी नगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गरिएको शर्माले बताए । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको शर्माले बताए । ‘नुवाकोट र धादिङका विभिन्न पालिकामा उम्मेदवारी दिएका छौँ,’ उनले भने । काठमाडौं महानगरपालिकामा पनि विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस