Latest News

एमालेबाट महानगरपालिको उपमेयर उम्मेदवार बनेकी कार्कीले उजुरी परेपछि दिइन् राजीनामा

Nepalese Times April 26, 2022 (2 Year ago)    1061 Views

काठमाडौं । नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार दिएकी शिल्पा निराला कार्कीले
कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छिन् ।

कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगर उपप्रमुखमा उम्मेदवारी दिएको उजुरी परेपछि नेकपा एमालेकी उम्मेदवार कार्कीले मंगलबार राजीनामा दिएकी हुन् । सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन्।

कार्कीलाई केपी ओली नेतृत्वको सरकारले अस्पतालमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ मा उनीसहितका सबै पदाधिकारीलाई हटाएको थियो।

सरकारको निर्णयविरूद्ध कार्कीसहितका पदाधिकारी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले उनीहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनःबहाली भएका थिए।

त्यसपछि राजीनामा नदिई उनी उम्मेदवार बनेको उजुरी परेको थियो । कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए।

नेकपा एमालेका नेताहरूले भने फागुनमा राजीनामा दिएको भनेर दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पतालकै एक कर्मचारीले बताएका छन् । कार्कीसहित चार जना उम्मेदवारविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले बताएका छन्।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ। उनीमाथि थप अनुसन्धान भइरहेको बुढाथोकीको भनाइ छ ।

यस्तै ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ। महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको हो। निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो।

उनीविरूद्ध उजुरी परेको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए। ललितपुर महानगरपालिकामा मात्रै पाँच जनाविरूद्ध उजुरी परेको उनले जानकारी दिए।

बेरूजुसम्बन्धी उजुरी परेको भन्दै मुख्य निर्वाचन अधिकृत शिवाकोटीले त्यसको अध्ययन भोलिमात्रै गरिने बताएका छन् । लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसँग असूल उपर गर्ने भनी कायम भएको बेरूजु फर्छ्यौट गरेको हुनुपर्ने हुन्छ ।

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्छ्यौट गर्नुपर्ने उल्लेख छ।एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध उजुरी परेको छ। बन्दसूचीमा शाक्यको नाम भएको हुँदा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।

आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन भनेको थियो। वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय गर्ने आयोगको तयारी छ।

प्रतिक्रिया दिनुहोस