Latest News

स्थानीय चुनावको रोचक दृश्य : ससुरा–बुहारी र श्रीमान–श्रीमती उम्मेदवार

Nepalese Times April 26, 2022 (2 Year ago)    1221 Views

बर्दिया । चुनावमा अनेक दृश्यहरु देख्न पाईन्छ । यसअघिका चुनावहरुमा जस्तै यो पटकमा पनि विभिन्न दृश्यहरु बाहिर आएका छन् ।

यहि बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि बर्दियामा ससुरा र बुहारी तथा श्रीमान र श्रीमती उम्मेदवार बनेका छन् । फरक राजनीतिक दलबाट गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षमा बलबहादुर थारु उमेदवार बनेका छन् । उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी भने नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा उमेदवार बनेकी हुन् । २०७४ को स्थानीय निर्वाचनमा पनि बलबहादुर वडाध्यक्षको उमेदवार थिए । उनी दुई मतले पराजित भएका थिए ।

यस्तै राजापुर नगरपालिकामा एउटै पार्टीबाट श्रीमान र श्रीमतीले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरपालिकाको प्रमुखमा राममणि उपाध्यायले उम्मेदवारी दिएका छन् भने उनकी श्रीमती सम्झना उपाध्यायले उपप्रमुखमा उमेदवारी दिएकी छन् ।

यस्तै स्थानीय तहको चुनावमा मनोनय दर्ता हुनुपूर्व नेकपा माओवादी केन्द्र धादिङले एकै घरका श्रीमान–श्रीमतीलाई मेयर र उपमेयरमा सिफारिस गर्यो । स्थानीय निर्वाचनको लागि निलकण्ठ नगरपालिका धादिङको मेयर र उपमेरमा माओवादी केन्द्रले मेयर र उपमेयरमा एकै घरका श्रीमान् र श्रीमतीलाई सिफारिस गरेको थियो ।

मनराज भण्डारी नीलकण्ठ नगरपालिका धादिङकाको मेयरमा र उनकी श्रीमतीलाई उपमेयरमा सिफारिस भएपनि अन्तिम समयमा आएर उनीहरुले टिकट पाउन सकेनन् ।

पार्टीभित्र नै चर्को विरोध भएसँगै उनीहरु दुबैजनालाई पार्टीले टिकट नदिएका हुन् । उनीहरुलाई टिकट दिएर उम्मेदवार बनाए हार्ने डर एकातिर र अर्को तिर सत्ता गठबन्धनमा रहेका दलहरुले पनि उनीहरुको नाम स्वीकार गर्न नसकेपछि उनीहरु टिकट पाउनबाट बन्चित भएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीबीच सत्ता गठबन्धन भएपछि मनराज भण्डारी उपमेयरमा निर्वाचित भएका थिए ।

उपमेयर भएपनि उनले पार्टी र नाागरिकहरुको लागि उपलब्धीमुलक काम गर्न नसकेको भनेर चर्को विरोधसहित आलोचना भइरहेको छ । उनै भण्डारी र उनकी श्रीमती नै मेयर र उपमेयरमा सिफारिस भएसँगै चर्को आलोचना भएको थियो ।

सत्ता गठबन्धनको सहमति अनुसार धादिङको नीलकण्ठ नगरपालिकाको मेयर काँग्रेसको भागमा परेको छ । भागबण्डा हुनुअघि माओवादी केन्द्र निलकण्ठले मेयर पदका लागि मनराज भण्डारी, कमल सापकोटा, तिलक थापामगर र शम्भु श्रेष्ठको नाम छनोटको लागि प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

उप प्रमुखमा ९ जनाको नामा सिफारिस भएको थियो ।जसमा सोम्बोले तामाङ (अक्कल), दिपक विश्वकर्मा, रामचन्द्र सामरी, रुद्रबहादुर खत्री, सरला धमला, बद्री सुवेदी, ध्रुव थापा, सिता भण्डारी र निशा मजाकोटी रहेका छन् । मेयर पदका दावेदार मनराज भण्डारी र उप मेयरका दावेदार सिता भण्डारी श्रीमान श्रीमती हुन् ।

तर उपमेयरमा अन्तिम समयमा आएर माओवादी केन्द्रले उपमेयरको टिकट दिपक विश्वकर्मालाई दिएको छ । उनले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस