Latest News

गठबन्धनका उपमेयरको उम्मेदवारी रद्द, गठबन्धनमा खैलाबैला

Nepalese Times April 26, 2022 (1 Year ago)    651 Views

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपमेयर पदको उम्मेदवारी रद्द भएको छ । उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो ।

उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको थियो । आज मुख्य निर्वाचन अधिकृत धु्रवप्रसाद सापकोटाले एक सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा दर्ता हुन नसकेको जानकारी दिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वडाध्यक्षसहित छ वडा सदस्य र नेपाली कांग्रेसको एक वडा सदस्यको पनि उम्मेदवारी दर्ता भएको छैन ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलामाई–४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुकुमार श्रेष्ठको प्रस्तावकको विवरण नभिड्दा उमेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं ११ मा वडाध्यक्षमा उम्मेदवारी दिएका मेमबहादुर ठकुरीको पनि सर्मथकको विवरण नभिड्दा उम्मेदवारी दर्ता भएको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा वडा नं २ मा सदस्यमा उम्मेदवारी दर्ता गराएका सोमाया सार्की, वडा नं ११ मा वीरबहादुर माझी, वडा नं १२ मा वडासदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएका ढालबहादुर विक, वडा नं १ का लक्ष्मण सुनुवार, वडा नं १० मा वडासदस्य पदमा उम्मेदवारी दिनुभएका उज्ज्वल कोइराला र वडा नं ४ मा मान्दोसिं भोलनले दिनुभएको वडासदस्य पदको उम्मेदवारी प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता भएको छैन ।

यस्तै नेपाली कांग्रेसबाट वडा नं ९ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका टीकाप्रसाद घिमिरेको पनि प्रस्तावकको विवरण नभिड्दा उम्मेदवारी दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत सापकोटाले बताएका छन् ।

ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ। महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको हो। निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो।

उनीविरूद्ध उजुरी परेको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए। ललितपुर महानगरपालिकामा मात्रै पाँच जनाविरूद्ध उजुरी परेको उनले जानकारी दिए।

बेरूजुसम्बन्धी उजुरी परेको भन्दै मुख्य निर्वाचन अधिकृत शिवाकोटीले त्यसको अध्ययन भोलिमात्रै गरिने बताएका छन् । लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसँग असूल उपर गर्ने भनी कायम भएको बेरूजु फर्छ्यौट गरेको हुनुपर्ने हुन्छ ।

निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्छ्यौट गर्नुपर्ने उल्लेख छ।एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध उजुरी परेको छ। बन्दसूचीमा शाक्यको नाम भएको हुँदा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।

आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन भनेको थियो। वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय गर्ने आयोगको तयारी छ।

प्रतिक्रिया दिनुहोस