Latest News

चुनावी घोषणापत्रमा गर्नै नसकिने हावादारी कुरा राखेका छैनौं – राजेन्द्र लिङदेन

Nepalese Times April 26, 2022 (1 Year ago)    638 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको चुनावी घोषणापत्रमा नसक्ने हावादारी कुरा नगरेको बताएका छन् ।

केन्द्रीय कार्यलय धुम्बाराहीमा भएको महानगर, उपमहानगर र नगरपालिकाका उम्मेदवारहरुको भेला कार्यक्रममा उनले आफ्नो पार्टीको घोषणापत्रमा आकाशको तारा झार्ने कुरा समावेश नभएको बताएका हुन् ।

यथार्थपरक, गर्न सकिने र विगतमा चुनाव जितेका स्थानीय तहमा प्रयोग गरेको र अनुभवका आधारमा घोषणापत्र तयार पारिएको उनको दाबी थियो ।

भ्रष्टाचार गर्दिन, बेइमानी गर्दिन भनेर मानसिक रुपमा तयार रहन आग्रह गर्दै उनले अन्य दलहरुको भन्दा आफ्नो दलको घोषणापत्र स्मार्ट घोषणापत्र भएको बताए ।

राप्रपाले शक्ति देखाउने अवसरको रुपमा आगामी स्थानीय तहको निर्वाचनलाई लिएको भन्दै उनले राप्रपा अगाडि बढेको र अब कसैले रोक्न नसक्ने बताए । राप्रपा बन्द कोठामा सीमित हुने पार्टी नभएको भन्दै उनले राप्रपा जनताको मन मस्तिष्कमा बसेको पार्टी भएको बताए ।

जीवनमा राप्रपा हुन्छु भन्ने कल्पना नगरेकाहरु राप्रपामा आउन तँछाडमछाड गरिरहेका भन्दै उनले हालको जनलहर कायम राख्दै अकल्पनीय परिणाम निकाल्न सकिने बताए ।

उच्च मनोबल सहित निर्वाचनमा जान उमेदवारलाई निर्देशन दिँदै उनले राप्रपाले नेपालको विकृत राजनीतिमा सुधार ल्याउने अठोट लिएको बताए ।

देशमा विद्यमान राजनीतिक विकृतिको कुरा उठाउनु आफूहरुको उदेश्य रहेको भन्दै उनले राप्रपाले भ्रष्टाचारको जरैदेखि अन्त्य गर्न चाहने भएकोले मतदातालाई विश्वास दिलाउन निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस