Latest News

ललितपुर महानगरकी एमाले उपमेयर उम्मेदवारविरुद्ध उजुरी दर्ता, लाग्यो गम्भीर आरोप

Nepalese Times April 26, 2022 (1 Year ago)    729 Views

काठमाडौं । बैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि उजुरी दिने समय आजका लागि तोकिएको थियो । निर्वाचन आयोगले आजका लागि उम्मेदवारविरुद्ध उजुरी दिन भनेको थियो ।

निर्वाचन आयोगले दिएको समयसिमाभित्र ललितपुर महानगरपालिकाकाको उपमेयरमा उम्मेदवारी दिएकी नेकपा एमालेकी उम्मेदवारविरुद्ध उजुरी परेको छ । ललितपुर महानगरपालिकामा उपमेयरका लागि उम्मेदवारी दर्ता गराएकी मञ्जली शाक्यको उम्मेदवारी खारेजीको माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

उनको उम्मेदवारी नियमसंगत नभएको भन्दै महानगरका स्थानीय ज्ञानबहादुर खड्गीले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी खारेज गर्न उजुरी दिएका हुन्।

०७४ को प्रदेश सभाको चुनावमा शाक्यको नाम बन्दसूचीमा थियो। बन्दसूचीबाट नाम हटाएपछि मात्रै उम्मेदवारी दर्ता गर्नुपर्ने प्रावधान छ। तर, शाक्यको नाम बन्दसूचीमा रहेको भन्दै उजुरी परेको नेकपा माओवादी केन्द्र ललितपुरका एक नेताले बताए ।

शाक्यले नेकपा एमालेबाट उपमेयर पदका लागि सोमबार उम्मेदवारी दर्ता गराएकी थिइन्। बन्दसूचीबाट नाम हटाउन दलहरूले आयोगमा निवेदन दिइसकेका र बन्दसूचीबाट नाम हटाउने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

मनोनयन दर्ता र बन्दसूचीबाट नाम हटाउने काम समानान्तर रूपमा भइरहेको र उम्मेदवारी दर्ता हुँदै गर्दा पनि नाम बन्दसूचीमै रहेको अवस्था रहेकोले आयोगले यसमा काम गरिरहेको उनले बताएका छन् ।

२०७४ को प्रदेशसभाको समानुपातिक निर्वाचनको बन्दसूचीमा माओवादी केन्द्रका तर्फबाट शाक्यको आदिवासी जनजाति महिला सूचीमा १४ नम्बरमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बन्दसूचीमा नाम भएकाले उम्मेदवार हुनुअघि नै बन्दसूचीबाट नाम हटाउनुपर्छ । उजुरी परेपछि निर्वाचन कार्यालयले आवश्यक काजगपत्र ल्याउन शाक्यलाई भनेको छ ।

भोलि र पर्सि मनोनयनपत्रमाथि जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । पर्सि १५ वैशाख बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस