Latest News

पार्टी छाड्ने निर्णय गरेका कांग्रेस नेता घिमिरेलाई शेखर कोइरालाको टेलिफोन, के–के भयो कुराकानी ?

Nepalese Times April 26, 2022 (1 Year ago)    1389 Views

काठमाडौं । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसका धेरैजसो नेता तथा कार्यकर्ताहरु निराश बनेका छन् । कतिपयले पार्टी परित्यागको घोषणा गरेका छन् भने कतिपयले बागी उम्मेदवारी दिएका छन् ।

यसैक्रममा लामो समय नेपाली कांग्रेसमा सक्रिय राजनीति गर्दै आएका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट विश्राम लिने भनेर सामाजिक संजालमा एक ट्वीट गरेसँगै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।

सक्रिय राजनीतिबाट संन्यास लिने भनेर स्टाटस पोष्ट गरेका कांग्रेस नेता घिमिरेलाई नेता–कार्यकर्ताहरूले अहिले नै यस्तौ निर्णय नलिन दबाब दिइरहेका छन् ।

घिमिरेको घोषणाप्रति अधिकांशले निराशा व्यक्त गरेका छन् भने कतिपयले राजनीतिक मैदान नछाड्न आग्रह गरिरहेका छन् । घिमिरेले आज बिहान फेसबुक र ट्विटर मार्फत ‘सक्रिय राजनीतिबाट बिदा लिउँ की भन्ने लागेको’ धारणा सार्वजनिक गरेका थिए ।

घिमिरेको घोषणापछि कांग्रेस नेता डा. शेखर कोइरालाले घिमिरेलाई फोन गरेर निराश नहुन आग्रह गरेका छन् । कोइरालाले राजनीतिबाटै अलग हुने निर्णय गर्ने बेला नभएको भन्दै सल्लाह गरेर मात्रै निर्णय लिन कोइरालालmे घिमिरेलाई सुझाएका छन् ।

कोइरालाले घिमिरेलाई भेट्न बोलाएका छन् । आजै उनीहरूबिच भेटेरै छलफल गर्ने सहमति बनेको छ । घिमिरे कोइराला टिममै सक्रिय रहँदै आएका छन् । यद्यपि पछिल्लो समय पार्टीभित्रका सबै गुट उस्तै रहेको घिमिरेको प्रतिक्रिया छ ।

पार्टीभित्र न्यायको कुनै गुञ्जायस नरहेको भन्दै उनले पार्टीभित्र सामान्य टेक्ने धरातल पनि नहुने भएपछि आफ्नाविरुद्ध रेड कर्नर जारी भएको महसुस आफूले गरेको घिमिरेले बताएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि घिमिरेलाई टेलिफोन गरेर हताश नहुन आग्रह गरेका छन् । घिमिरेले महसुस गरेको अन्यायलाई पार्टीभित्रबाटै न्यायमा परिणत गराउनुपर्ने सुझाव दिँदै उनले घिमिरेलाई लामो समयदेखि अन्याय भएको महसुस आफूले पनि गरेको भन्दै राजनीति छाड्ने निर्णयमा नपुग्न आग्रह गरेका छन् ।

घिमिरेले स्थानीय निर्वाचनमा पार्टीका साथीहरूलाई साथ आवश्यक रहेकाले निर्वाचनपछि थप निर्णय लिने बताए । उनले आफू कुनै आवेगमा आएको या हताश नभएको दाबी गरे ।

उनले आफूलाई लागेको कुरा सामाजिक सञ्जालमा लेखे पनि राजनीतिबाट संन्यास घोषणा नगरिसकेको र स्थानीय निर्वाचनपछि थप निर्णय लिने बताएका छन् । स्थानीय तहको चुनावमा मनोनयन दर्तालगत्तै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस