Latest News

एमालेका अर्का दुई जनप्रतिनिधि पनि निर्विरोध निर्वाचित

Nepalese Times April 26, 2022 (1 Year ago)    1444 Views

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रियासँगै निर्विरोध निर्वाचित हुनेहरुको नाम सार्वजनिक हुन थालेको छ ।

मकवानपुरमा नेकपा एमालेबाट दुई जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् । दमाई र सुनारको उक्त वडामा एकल उम्मेदवार परेको इन्द्रसरोवर२ स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै डोल्पा जिल्लाको से–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अध्यक्ष धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् । कर्णाली प्रदेशको से–फोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेका हुन् ।अध्यक्षमा निर्बिरोध हुने गुरुङ नेकपा एमाले डोल्पाको उपसचिव छन् ।

गाउँपालिकाको ९ वटा वडामध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्बिरोध भएका हुन् । गुरूङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन् ।

वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्वािरोध भएको छ । त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको गुरूङको भनाई छ ।

त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ । वडा नम्बर ७ मा पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ । त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ। यद्यपी निर्वाचन आयोगले उनीहरूको निर्विरोधको सूचना प्रकाशित गर्न बाँकी रहेको छ ।

यस्तै पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएका छन् । ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बनेका छन् । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।

वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस