Latest News

फोटो प्रदर्शनी अवलोकन गर्दै काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले गरिन् यस्तो प्रतिवद्धता

Nepalese Times April 26, 2022 (1 Year ago)    492 Views

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू विजयी भए फोटो पत्रकारहरुको हक हितका लागि आवश्यक सम्बोधन गर्ने प्रतिपद्धता जनाएकी छिन् ।

राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गरको लकडाउन फोटो प्रदर्शनीमा उनले फोटो पत्रकारहरुको सम्वद्र्धन र विकासका लागि आफूले सक्ने सहयोग गर्ने बताएकी हुन् ।

फोटो पत्रकारहरुको समस्या के के छ त्यसलाई सम्बोधन गरेर आफूले आवश्यक रणनीति बनाउने भन्दै उनले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको शुभकामनासमेत दिइन् । त्यसअवसरमा उनले प्रदर्शनीमा राखिएका फोटोहरुले आफ्नो मन छोएको भन्दै भावुकसमेत भएकी थिइन् ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी आयोजना गरेको थियो । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

भृकुटी मण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, सुन्धारा, नयाँ सडक हुँदै हनुमानढोकामा पुगेर समापन भएको थियो । बसन्तपुर डबलीमा फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी बुधबारसम्म जारी रहने जनाइएको छ ।

सो कार्यक्रमलाई राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीन कृष्ण बज्राचार्य र राजेन्द्र चित्रकार, वर्तमान अध्यक्ष प्रदीपराज वन्तले सम्बोधन गरेका थिए । उनीहरुले फोटो पत्रकारले भोग्दै आएका समस्याका बारेमा उजागर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस