Latest News

सुनको मूल्यमा भारी गिरावट, तोलाको कति पुग्यो ?

Nepalese Times April 26, 2022 (1 Year ago)    623 Views

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।

उनका अनुसार मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गर्दछ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर रहेको शाक्यले बताए ।

यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०।५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ । यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस