Latest News

स्थानीय निर्वाचन : कुन पदमा कति जनाले दिए उम्मेदवारी ?

Nepalese Times April 26, 2022 (2 Year ago)    488 Views

काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार रातिसम्म देशभर १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७४४ र उपप्रमुख पदमा एक हजार ६९९ उम्मेदवारी परेको छ।

गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६९७ र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

डोल्पाका ६ वटा वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आगामी वैशाख ३० का लागि उम्मेद्वारको मनोनयन हुने क्रममा डोल्पाका ६ वटै वडाका वडाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पाको काइके गाउॅपालिका अध्यक्ष, छार्का तोङसोङ गाउॅपालिका अध्यक्ष र डोल्पोबुद्ध गाउॅपालिका उपाध्यक्ष सहितका ६ वटा वडा रहेका छन् ।

जसमा २ गाउँपालिका अध्यक्ष, १ गाउपालिका उपाध्यक्ष र ६ वडा अध्यक्ष गरी ९ जना पदाधिकारी सहित वडा सदस्यहरु निर्विरोध भएका हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पनि निर्विरोध निर्वाचित भएर खाता खोलिसकेको छ ।

यस्तै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पनि खाता खोलेको छ । पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो ।

ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बनेका छन् । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।

वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।

यस्तै बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर उम्मेदवारी दर्ताको काम भइरहेको छ । देशभर उम्मेदवारी दर्ताको काम हिजोदेखि सुरु भएको हो ।

यसअघिका चुनावमा उम्मेदवारी दर्ताका क्रममा निक्कै चाप भएकाले यो पटक उम्मेदवारी दर्ताको समय २ दिन तय गरिएको थियो । देशका विभिन्न ठाउँमा उम्मेदवारी दर्ताको क्रम चल्दै गर्दा माओवादी केन्द्रले भने पहिलो खाता खोलेको छ ।

स्थानीय तहको मनोनयन दर्ता सम्पन्न नहुँदै एक स्थानीय तहको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।मनाङको नेस्याँङ गाउँपालिका– ९ मा माओवादीको उम्मेदवारसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । वडाध्यक्षमा माओवादी केन्द्रकी च्योल्पा गुरूङ निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै सदस्यहरूमा अनिल गुरूङ, धनबहादुर गुरूङ पनि निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा रिया गुरूङ र दलित सदस्यमा सुष्मिता सेन्चुरी पनि निर्विरोध निर्वाचन भएका हुन् । निर्वाचन समितिले भने सबैको नाम पालिकाको अन्तिम मतगणना भएपछि मात्रै घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस