Latest News

बागी उम्मेदवारी फिर्ता लिने भरतपुरको मेयरमा उठेका कांग्रेस नेता पौडेलको तयारी, केन्द्रबाटै यस्तो दबाब

Nepalese Times April 26, 2022 (1 Year ago)    1983 Views

काठमाडौं । काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

तर उक्त सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

मेयर पदमा उम्मेदवारी दिएका उनीमाथि उम्मेदवारी फिर्ता लिन दबाब बढेको छ । भरतपुरमा नेपाली कांग्रेसका असन्तुष्टले बागी उम्मेदवारी दिएको विषयमा जिल्ला सभापति राजेश्वर खनालले त्यसरी उम्मेदवारी दिनेलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

खनालले पार्टीको नीति विपरीत बागी उम्मेदवारी दर्ता गराउने जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने पनि खनालले बताएका छन् ।

उनले असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने बताए । बागी उम्मेदवारी दिएका पौडेलले पनि आफूले उम्मेदवारी फिर्ता गर्ने तयारी गरेको उनी निकट एक नेताले बताए ।

बागी उम्मेदवारी फिर्ता नगने पार्टीले कारबाही गर्ने र राजनीतिक भविश्य नै समाप्त हुने आंकलनसहित उनले उम्मेदवारी फिर्ता लिने तयारी गरेका हुन् । उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म पार्टीसँग छलफल गरेर आवश्यक निर्णय लिएर पार्टीलाई सहयोग गर्ने तयारीमा पौडेल लागि परेका बताइएको छ ।

यस्तै नेपाली कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले पनि पोखराको मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य उनले पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि हिजो विमलबहादुर कार्कीले पनि स्वतन्त्र रुपले उम्मदेवारी दर्ता गराएका थिए। सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अनुसार पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

यो महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट कसैले पनि आधिकारिक उम्मेदवारी नदिने केन्द्रको निर्णय रहेको छ । कांग्रेस र माओवादी केन्द्रले पोखरामा एकीकृत समाजवादीका उम्मेदवारलाई सहयो गर्नुपर्ने सहमति छ ।

यस्तै नेपाली काँग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोज साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई परेपछि उनले काँग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पजियार रहेका छन् । यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले पोखराको मेयरमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस