Latest News

स्थानीय तहमा एमालेले पनि खाता खोल्यो, अध्यक्षका उम्मेदवार निर्विरोध निर्वाचित

Nepalese Times April 25, 2022 (1 Year ago)    1337 Views

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पनि खाता खोलेको छ । पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्बिरोध भएसँगै एमालेले बिजयको खाता खोलेको हो ।

ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पालाई वडाध्यक्ष बनाउने निर्णयसहित निर्बिरोध बनाएका हुन । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बनेका छन् । यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्बिरोध भएका छन् । गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरे पनि पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै सर्वसम्मत गरिएको हो ।

वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको छ ।

यस्तै बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर उम्मेदवारी दर्ताको काम भइरहेको छ । देशभर उम्मेदवारी दर्ताको काम हिजोदेखि सुरु भएको हो ।

यसअघिका चुनावमा उम्मेदवारी दर्ताका क्रममा निक्कै चाप भएकाले यो पटक उम्मेदवारी दर्ताको समय २ दिन तय गरिएको थियो । देशका विभिन्न ठाउँमा उम्मेदवारी दर्ताको क्रम चल्दै गर्दा माओवादी केन्द्रले भने पहिलो खाता खोलेको छ ।

स्थानीय तहको मनोनयन दर्ता सम्पन्न नहुँदै एक स्थानीय तहको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।मनाङको नेस्याँङ गाउँपालिका– ९ मा माओवादीको उम्मेदवारसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । वडाध्यक्षमा माओवादी केन्द्रकी च्योल्पा गुरूङ निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै सदस्यहरूमा अनिल गुरूङ, धनबहादुर गुरूङ पनि निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा रिया गुरूङ र दलित सदस्यमा सुष्मिता सेन्चुरी पनि निर्विरोध निर्वाचन भएका हुन् । निर्वाचन समितिले भने सबैको नाम पालिकाको अन्तिम मतगणना भएपछि मात्रै घोषणा गर्ने तयारी गरेको छ ।

देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार १९७ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । देशभरका २९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा ९७५ जनाको मनोनयन परेको छ ।

त्यसैगरी कुल ४६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ६१० जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १ हजार ५० जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् । स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ७२१ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या १ हजार ६०६ छ ।

देशभरका कुल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १२ हजार ३१२ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ ।

त्यस्तै ७ हजार ६९३ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ६ हजार ७११ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् । ५ बजेसम्ममा लाइनमा बसेकाहरुले उम्मेदवारी दर्ता गराउने पाउने भएकाले यो संख्या बढ्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस