Latest News

टिकटको विषयलाई लिएर माओवादीका दुई समूहबीच झपड, घटनास्थल तनावग्रस्त

Nepalese Times April 25, 2022 (1 Year ago)    720 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रको टिकट पाउने र नपाउने पक्षबीच सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थिति नियन्त्रणबाहिर गएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

चौतारामा अहिले केही राउण्ड अश्रूग्याँस पनि प्रहार गरिएको छ । चौतारा माओवादी नेता अमानसिंह तामाङले स्थानीय आवश्यकताका आधारमा भन्दा पनि काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको बताएका छन् । उनलले आफूले पनि स्वतन्त्र उमेमदवारी दिने र झडपका क्रममा नगरपालिकामा पनि तोडफोड भएको जानकारी दिएका छन् ।

यस्तै स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा सकिएको छ । आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयनका लागि समय छुट्टयाएको थियो । सो समय सोमबार अपरान्ह ५ बजेसम्म थियो । मनोनयनको समय सकिएसँगै आयोग विवरण संकलनमा जुटेको छ । स्थानीय तह निर्वाचनको मतदान वैशाख ३० गते हुँदैछ ।

आयोगले उक्त दिन सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । मनोनयनपछि आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।

त्यसैगरी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् । दर्ता भएको मनोनयनमाथि रुजु गर्ने काम जारी रहेको आयोगले जारी गरेको विज्ञप्तिमा छ । साथै निर्वाचन आयोगले ७७ वटै जिल्लाहरुमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको छ । वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने तयारी गरिएको पनि जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आव्हान गर्दै आएको छ । आचारसंहिता विपरित हुनेगरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिन्ह राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनैपनि आमसभा, जुलुस, र्याली भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा ३ ह ३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह तथा उम्मेदवारको पहिचान खुलेको ए–फोर साइजको एक रङमा छापिएको विवरण बाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिन्ह भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लङ्घन भएको कसूरमा दलको उम्मेदवारलाई कारवाही हुने भएकाले सचेत रहन आयोगले सम्बन्धित सबैलाई पुनः ध्यानाकर्षण गराएको छ ।

साथै, जुलुस, आमसभा, र्याली, बैठक आदिमा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरित हुनेगरी सम्बन्धित दलको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारवाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगको अनुरोध छ ।

मिति २०७९ वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी छ । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ को पर्यवेक्षणका लागि कूल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेका छन् । ती संस्थाबाट करिब २० हजार भन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस