Latest News

राप्रपा नेपालले औपचारिक रुपमै माग्यो सूर्य चिन्हमा भोट (पत्रसहित)

Nepalese Times April 25, 2022 (1 Year ago)    586 Views

काठमाडौं । । कमल थापा नेतृत्वको राप्रपा नेपालले मकवानपुरका सबै स्थानीय तहमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न अपिल गरेको छ । कमल थापाको गृह जिल्ला मकवानपुरमा सबै स्थानीय तहमा सो पार्टीले एमालेलाई मतदान गर्ने भएको छ ।

राप्रपाका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै कार्यकर्ता र शुभेच्छुकहरूलाई नेकपा एमालेको सूर्य चिन्हमा भोट हाल्न अपिल गरेको हो ।

दुई पार्टीबीच केन्द्रीय स्तरमा भएको सहमति अनुसार सूर्यमा मतदान गर्न उनको आग्रह छ । राप्रपाले हेटौँडा उपमहानगरपालिका लगायत स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी नपाए पनि केही वडामा समायोजन गरिएको बताइएको छ ।

यसअघि नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको थियो । वैशाख ३० गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको हो।

एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गर्न पाँच बुँदे सहमतिसमेत भएको छ। उक्त सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने र निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमा आवद्ध हुने चौथों बुँदामा समावेश छ। दुबै दलले सहमति कार्यान्वयनका लागि आद्दआफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।

यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी र नेकपा एमालेबीच धेरै कुरामा समानता रहेको बताएका छन् । एमालेसँग चुनावी तालमेल गर्ने सहमति गरेका थापाले दुई पार्टीबीच धेरै समानता रहेको बताएका हुन् ।

सत्तारुढ चार दलसहित पाँचदलीय गठबन्धन बनेको सन्दर्भमा प्रतिपक्षी एमालेले पनि राप्रपा नेपाल, नेपाल परिवार दललगायतलाई समेट्दै निर्वाचनमा होमिएको छ । एमालेले राप्रपासँग पनि तालमेल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस