Latest News

भरतपुर महानगरको मेयरमा रेनु दाहालले गरिन् मनोनयन दर्ता

Nepalese Times April 25, 2022 (1 Year ago)    732 Views

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । यस्तै भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

तर उक्त सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

यस्तै नेपाली कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले पोखराको मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य उनले पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि हिजो विमलबहादुर कार्कीले पनि स्वतन्त्र रुपले उम्मदेवारी दर्ता गराएका थिए। सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अनुसार पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

यस्तै नेपाली काँग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोज साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई परेपछि उनले काँग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पजियार रहेका छन् । यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले पोखराको मेयरमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस