Latest News

भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले दिए बागी उम्मेदवारी, तनावमा रेनु दाहाल

Nepalese Times April 25, 2022 (1 Year ago)    773 Views

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो । तर उक्त सहमतिको विपक्षमा रहेका कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले छुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

नेता पौडेलले भरतपुरको चौबिसकोठीबाट चारतारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

यस्तै नेपाली कांग्रेस कास्कीका पूर्वकोषाध्यक्ष ऋषि सापकोटाले पोखराको मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य उनले पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि हिजो विमलबहादुर कार्कीले पनि स्वतन्त्र रुपले उम्मदेवारी दर्ता गराएका थिए। सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अनुसार पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ ।

यो महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट कसैले पनि आधिकारिक उम्मेदवारी नदिने केन्द्रको निर्णय रहेको छ । कांग्रेस र माओवादी केन्द्रले पोखरामा एकीकृत समाजवादीका उम्मेदवारलाई सहयो गर्नुपर्ने सहमति छ ।

यस्तै नेपाली काँग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोज साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई परेपछि उनले काँग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पजियार रहेका छन् । यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले पोखराको मेयरमा उम्मेदवारी दिएका छन्।

पार्टीमा विद्रोह गरेको र कांग्रेस कार्यकर्ताले रुखमै भोट हाल्न पाउनुपर्ने जिकिर गर्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले उम्मेदवारी दिएसंगै गठबन्धनमा खैलाबैला सुरु भएको छ। उनले पार्टीले कारबाही गर्ने हो भने अर्काको चुनाव चिह्नमा भोट हाल्न लगाउने कांग्रेस सभापति शेरबहादुर देउवालाई कारबाही गर्नुपर्ने बताए।

केन्द्रीय नेतृत्वले गरेको गलत कदमको विरुद्ध आफूले उम्मेदवारी दर्ता गरेको कार्कीले बताए । ‘सिण्डिकेट लागु गर्‍यो । हामी कांग्रेसी हो । हामीले कसलाई भोट हाल्ने रु,’ उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल भन्छन् । अहिले कलममा भोट हाल भनेका छन् । अब हामीले रुखमा भोट हाल्दा पनि कारबाही भोग्नुपर्ने ?’

प्रतिक्रिया दिनुहोस