Latest News

मनोनयन दर्ता नसकिँदै मनाङमा माओवादीले खोल्यो पहिलो खाता, अध्यक्षसहित सबै उम्मेदवार निर्विरोध

Nepalese Times April 25, 2022 (2 Year ago)    1947 Views

मनाङ । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर उम्मेदवारी दर्ताको काम भइरहेको छ । देशभर उम्मेदवारी दर्ताको काम हिजोदेखि सुरु भएको हो ।

यसअघिका चुनावमा उम्मेदवारी दर्ताका क्रममा निक्कै चाप भएकाले यो पटक उम्मेदवारी दर्ताको समय २ दिन तय गरिएको थियो । देशका विभिन्न ठाउँमा उम्मेदवारी दर्ताको क्रम चल्दै गर्दा माओवादी केन्द्रले भने पहिलो खाता खोलेको छ ।

स्थानीय तहको मनोनयन दर्ता सम्पन्न नहुँदै एक स्थानीय तहको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।मनाङको नेस्याँङ गाउँपालिका– ९ मा माओवादीको उम्मेदवारसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । वडाध्यक्षमा माओवादी केन्द्रकी च्योल्पा गुरूङ निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै सदस्यहरूमा अनिल गुरूङ, धनबहादुर गुरूङ पनि निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा रिया गुरूङ र दलित सदस्यमा सुष्मिता सेन्चुरी पनि निर्विरोध निर्वाचन भएका हुन् । निर्वाचन समितिले भने सबैको नाम पालिकाको अन्तिम मतगणना भएपछि मात्रै घोषणा गर्ने तयारी गरेको छ ।

यस्तै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा (माओवादी केन्द्र)ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ। नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनिक गरे। स्वतन्त्ररुपमा उम्मेदवारी दिने उम्मेदवारले पनि आ आफ्ना घोषणापत्र सार्वजनिक गरे।

सत्ता गठबन्धनमा रहेको माओवादीले घोषणापत्र नबनाएको हो वा किन सार्वजनिक गरेन भनेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले भने, ‘हामीले स्थानीयस्तरमा नै घोषणापत्र बनाएका छौं, स्थानीय तहमा नै ती सार्वजनिक भएका छन्।’

पार्टीका तर्फबाट घोषणापत्रका लागि ७५३ वटै स्थानीय तहलाई सामान्य रुपरेखा पठाइएको जानकारी दिँदै उनले भने, ‘हाम्रो ध्येय र प्रमुख नीति नै स्थानीय तहलाई बलियो बनाउने भन्ने रहेकाले केन्द्रले सामान्य निर्देशन मात्रै दिएको छ।’ माओवादीले ‘गाउँगाउँमा सिंहदरबार र सिंहदरबारको अधिकार स्थानीय तहमा’ भन्ने नारा नै अगाडि सारेका कारण केन्द्रबाट हस्तक्षेप गरेर घोषणापत्र सार्वजनिक गर्ने कुरा सैद्धान्तिकरुपमा अमिल्दो भएको बताएको छ।

संघीयताको मर्मअनुसार सबै काम केन्द्रबाट नै गर्ने र लाद्ने भन्ने नभएको भन्दै प्रवक्ता महराले पूर्वको ताप्लेजुङले आफ्नो विशेषतामा घोषणापत्र बनाएको र पश्चिमको दार्चुलामा पनि सोहीअनुसार भएको बताए। माओवादीले ‘व्यवस्था परिवर्तन गर्‍यौं, अब अवस्था परिवर्तन गरौं’ भन्ने नारा देशभरका लागि एउटै तय गरेको उनको भनाइ छ। माओवादीले स्थानीय तहलाई घोषणापत्र बनाउन दिएको निर्देशिकामा ‘समाजवाद उन्मुख समृद्धि: आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’लाई प्रमुख प्राथमिकतामा राखेको छ।

त्यस्तै ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ स्थापित गर्ने विषयलाई महत्त्व दिइएको छ। त्यस्तै उद्यमशीलताको विकास-रोजगारीको विस्तार, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता, निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा र वन तथा जैविक विविधतालाई केन्द्रमा राखेर घोषणापत्र बनाउन भनेको छ। प्रवक्ता महराका अनुसार समृद्धिका लागि वन कार्यक्रम अगाडि बढाउन पनि निर्देश गरिएको छ।

माओवादीले सबै वडाका केन्द्रसम्म सबै मौसममा यातायात चल्न सक्ने सडकको निर्माण गर्ने, सबै वडामा विद्युतीकरणको व्यवस्था मिलाउने तथा सञ्चार सुविधाको विस्तार गर्ने विषयलाई केन्द्रमा राखेको छ। नेपालको पानी जनताको लगानीको नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गर्ने तथा एलपी ग्यासको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युत्को उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउने गरी स्थानीयस्तरमा नै घोषणापत्र बनाउन भनिएको छ।

उनले गठबन्धनमा आबद्ध रहेका दलबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिइएको बताए। केही स्थानमा गठबन्धनको नीति विपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति गठबन्धनको रहेकोसमेत प्रवक्ता महराको भनाइ छ।

‘एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावना विपरीत जाने छुट कोही कसैलाई छैन, यसमा आबद्ध सबै दलको एउटै धारणा छ, त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्छौं,’ प्रवक्ता महराले भने। उनले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिँदै बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने विश्वास व्यक्त गरे। एउटै पार्टीमा त एउटाले टिकट पाउँदा अर्को रिसाउने र असन्तुष्टि व्यक्त गर्ने हुँदा गठबन्धनमा यस्तो देखिनु लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै उनले असन्तुष्टिलाई उचित तरिकाले सम्बोधन गरिने बताए।

गठबन्धनका आधारमा अगाडि बढ्दा कोही कसैले कसैलाई पेलेको वा बढी लिएको भन्ने अर्थमा लिन नहुने उनको भनाइ छ। ‘सबै दलको आफ्नो हैसियत र क्षमताअनुसार नै निर्णय भएको छ। कतै काँग्रेसबाहेकका गठबन्धनमा अरू दल मिलेका छन्, कहीँ हाम्रो पार्टी र अन्य दल मिलेका छन्, तर समग्रमा गठबन्धन भएको छ,’ प्रवक्ता महराले भने। केही साना पार्टीले पनि आफ्नो पार्टीलाई सहयोग गर्ने वचन दिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस