Latest News

मेयरमा उम्मेदवारी दर्ता लगत्तै यौन हिंसाको आरोपबारे स्थापितले दिए कडा प्रतिक्रिया

Nepalese Times April 25, 2022 (1 Year ago)    464 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले यो पटक पनि मेयरमा उम्मेदवारी दिएका छन् । नेकपान एमालेको तर्फबाट उम्मेदवारी दिएका स्थापितमाथि उम्मेदवारीको टुंगो लाग्नेवित्तिकै एउटा गम्भीर आरोप लागेको छ ।

स्थापितले मिटु प्रकरणमा आफूलाई नाम मात्रैको आरोप लगाइएको दाबी गरेका छन् । उनले केशव स्थापित विवादमा आइरहने मान्छे भएको भन्दै उनले केही ईश्यु उठ्यो भन्दैमा आफूले ध्यान नदिने बताए ।

उम्मेदवारी दर्ताका लागि दलबलसहित राष्ट्रिय सभागृह पुगेका उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भने, ‘पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन । यसमा मेरो अरु भनाइ छैन । समयसमयमा केही इस्युहरु आउँछ । इस्यु उठेन भने केशव स्थापित हुन्छ ? विवादमा नआउने केशव स्थापित हुन्छ ? बाहिर केही इस्यु उठ्यो भने त्यसमा ध्यान दिनु हुन्न ।’

उनले आफूले मेयर पदमा काँग्रेसले भन्दा दोब्बर मत ल्याएर जित्ने दाबी पनि गरे । सोमबार राष्ट्रियसभा गृहमा उपमेयरका उम्मेदवार सुनिता डंगोलसहित उम्मेदवारी दर्तापछि स्थापितले गठबन्धनका उम्मेदवारले ४० हजार ल्याए आफुले ८० हजार ल्याउने बताए ।

गठबन्धनको महानगरमा काँग्रेसको स्थायी भोट ४५ हजार र माओवादीको ७ जोड्दा ५२ हजार र समाजवादीको ६ हजार जोड्दा ५५ देखि ५८ हजार हुने भन्दै उनले भने, ‘०५४ सालमै ८४ हजार ल्याएको मान्छेसँग केके प्रतिस्पर्धा ?’

उनले सिस्टमले प्रतिस्पर्धा हुनु स्वभाविक भएपनि आफ्नो पार्टीले प्रमाणित मान्छे उम्मेदवार बनाएको पनि बताए । उनले उपमेयरका उम्मेदवार सुनिता डंगोललाई देखाउँदै भने,‘ सुनिताजीको आवाज सुन्नुस् त लतामंगेशकरको जस्तो छ ।’

को हुन् केशव स्थापित ?

स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए। एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए। २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए। केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए।

एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए। एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बनाएका थिए। तर उनले लामो समय काम गरेनन्। दोश्रो संविधानसभामा स्थापित संघीय समाजवादीमा पार्टीमा आवद्ध भएका थिए। काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर पराजित भए। त्यसपछि स्थापित एमालेमै फर्किएका थिए।

२०७४ को स्थानीय निर्वाचनमा स्थापित काठमाडौंको मेयरमा उठ्न चाहन्थे। तर त्यो बेला विद्यासुन्दर शाक्य उम्मेदवार बने। शाक्यलाई जिताउन उनी निकै खटेका थिए। त्यसकै परिणाम उनले २०७४ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभाको टिकट पाए।

उनी बागमती प्रदेशको भौतिक मन्त्री समेत बनेका थिए। मुख्यमन्त्री डोरमणि पौडेललाई गाली९गलौज र दुर्व्यवहार गरेपछि उनी २०७६ कात्तिकमा बर्खास्तगीमा परेका थिए। त्यही बेलामा उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यद्यपि यसको कुनै छानबिन भएन।

स्थापितको पालामा काठमाडौं महानगरमा धेरै काम भएको र उनले नै काठमाडौंमा आकाशे पुल अनि सडक फराकिलो बनाउने कामको सुरू गरेको एमालेका नेताहरूको दाबी छ। त्यही बेलाको उनको छवि, खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण उम्मेदवार बनाइएको उनका समर्थकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस