Latest News

काठमाडौंको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेका केशव र सुनितालाई यस्तो देखियो (तस्बिरहरु)

Nepalese Times April 25, 2022 (1 Year ago)    824 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापितले उम्मेदवारी दिएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएकी छिन् ।

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिएका हुन्। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो। बागमती प्रदेश सांसद समेत रहेका उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्। यस्तै पूर्व मिस नेवा डंगोललाई एमालेले उपमेयर बनाएको हो।

स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए। एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए। २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए। केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए।

एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए। एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बनाएका थिए। तर उनले लामो समय काम गरेनन्। दोश्रो संविधानसभामा स्थापित संघीय समाजवादीमा पार्टीमा आवद्ध भएका थिए। काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर पराजित भए। त्यसपछि स्थापित एमालेमै फर्किएका थिए।

२०७४ को स्थानीय निर्वाचनमा स्थापित काठमाडौंको मेयरमा उठ्न चाहन्थे। तर त्यो बेला विद्यासुन्दर शाक्य उम्मेदवार बने। शाक्यलाई जिताउन उनी निकै खटेका थिए। त्यसकै परिणाम उनले २०७४ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभाको टिकट पाए।

उनी बागमती प्रदेशको भौतिक मन्त्री समेत बनेका थिए। मुख्यमन्त्री डोरमणि पौडेललाई गाली९गलौज र दुर्व्यवहार गरेपछि उनी २०७६ कात्तिकमा बर्खास्तगीमा परेका थिए। त्यही बेलामा उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यद्यपि यसको कुनै छानबिन भएन।

स्थापितको पालामा काठमाडौं महानगरमा धेरै काम भएको र उनले नै काठमाडौंमा आकाशे पुल अनि सडक फराकिलो बनाउने कामको सुरू गरेको एमालेका नेताहरूको दाबी छ। त्यही बेलाको उनको छवि, खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण उम्मेदवार बनाइएको उनका समर्थकहरू बताउँछन्।

यस्तै सन् २०११ मा मिस नेवाको ताज पहिरिएकी सुनिता डंगोल बहुमुखी प्रतिभा भएकी एक जुझारु युवा हुन् । नेपाल र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी अभियन्ता हुन् ।

सुनिता लिपी क्वीनको उपनामले पनि चिनिन्छिन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम चलाउने उनी क्याली जात्रामार्फत विश्वभर भर्चुअल रुपमा लिपी सिकाउँदै त्यसको सम्वर्द्धन गर्दै आएकी छन् ।

जापान, कोरिया, जर्मनलगायत एक दर्जन बढी देशहरुको भ्रमण गरेकी उनले काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषण गरेकी थिइन् । आफूसँग काठमाडौँ शहरको विकासको योजना रहेको भन्दै उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी सुनिताले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्जमा सम्वर्द्धन गर्दै आएकी छन् ।

डाइनामिक लिडरका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मान्ने सुनिता अन्ततः एमालेबाट काठमाडौँको उपमेयरको उम्मेदवार बनेकी छन् । आफूले मेयरको घोषणा गर्दा घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन् ।

तस्बिरहरु: नेप्लिज टाइम्स

प्रतिक्रिया दिनुहोस