Latest News

तनहुँमा पनि एमाले र कांग्रेसको असन्तुष्ट समूहबीच चुनावी तालमेल, कुन पालिका कसलाई ?

Nepalese Times April 25, 2022 (2 Year ago)    691 Views

 नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहबीच तनहुँमा चुनावी तालमेल भएको छ ।

तनहुँका १० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्‍वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख पाएको छ ।

एमालेले देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख र उपप्रमुख लिएर व्यास नगरपालिकाको मेयर, आबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र भानु नगरपालिकामा उपप्रमुख जोशी समूहलाई दिएको छ ।

जोशी समूहले व्यास नगरपालिकाको मेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ भने भागबण्डामा परेका पालिकाको उपप्रमुखको टुंगो लगाएको छैन । भागबण्डा मिलसँगै एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा र उपाध्यक्षमा सावित्री न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले म्याग्देको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरे, शुक्ला गण्डकीको मेयरमा मुक्ति तिमिल्सिना र उपमेयरमा फूलमाया वाग्ले, भिमादको मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाल, घिरिङको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले ऋषिङको अध्यक्षमा हरिराज कँडेललाई बनाउने भएको छ भने उपाध्यक्षको टुंगो लगाएको छैन ।

एमालेले आफ्नो भागमा परेको आँबुखैरेनीको अध्यक्षमा ऋषि केसी उपाध्यक्ष, बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापा, भानुको मेयरमा सीताराम बजगाईंलाई उम्मेदवार बनाउने भएको छ । एमालेले व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।

यस्तै रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा एमाले र कांग्रेसबीच चुनावी तालमेल हुने भएको हो ।

चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन् ।
गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उमेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए ।

गठबन्धन गरेका दुई दलले वडामासमेत तालमेल गरेका छन् । ६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं. २, ३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं. १, ४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि यी दुई दलबीच गठबन्धनको प्रयास भइरहेको बताइएको छ । केन्द्रमा नेकपा एमालेका उम्मेदवार हराउन भन्दै ५ दलीय गठबन्धन कम्मर कसेरै लागिपरेका छन् । उनीहरुले देशभर आवश्यकता अनुसार सत्ता गठबन्धनबीच तालमेल गर्न भनेका छन् ।

तर, केन्द्रको सहमति विपरित झापाको कचनकवल गाउँपालिकामा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुने भएको छ। गाउँपालिकाको अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिनेगरी चुनावी तालमेल हुने भएको त्यहाँका एक स्थानीय नेताले बताएका छन् । सहमति अनुसार अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन्।

कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन्। राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन्।

कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताएका छन्। उनले वडा अध्यक्ष र सदस्यहरुको भागबन्डाको विषयमा छलफल चलिरहेको बताए।

प्रतिक्रिया दिनुहोस