Latest News

असन्तुष्ट कार्यकर्ताले काँग्रेस पार्टी कार्यालयमा लगाए ताला

Nepalese Times April 25, 2022 (2 Year ago)    460 Views

स्थानीय तह निर्वाचनको टिकट वितरणमा असन्तुष्टि जनाउँदै कञ्चनपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेका छन्।

कार्यकर्ताको भावनाविपरीत आफूनिकटलाई उम्मेदवारको टिकट वितरण भएको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गर्नु परेको असन्तुष्ट नेताले बताए।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ स्थित नेपाली कांग्रेसको क्षेत्र नम्बर २ को क्षेत्रीय पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताले तालाबन्दी गरेका छन्।

कञ्चनपुरमा सत्ता गठबन्धन फुटेर कांग्रेस एक्लै चुनाव लड्दै छ। सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडिरहेका छन्।

यता नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनलाई दोहो¥याउने निर्णय गरेको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले महर्जनलाई महानगर प्रमुखको उम्मेदवार बनाएका छन्।

महर्जनलाई फेरि महानगर प्रमुखका लागि उम्मेदवार बनाइएको उनका स्वकीय सचिव इन्द्र महर्जनले पुष्टि गरेका छन्। उनले साढे १२ बजे जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको तयारी भइरहेको पनि बताए।

कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइरालालाई अघि सारेको छ। पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

उनका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘विराटनगरमा नागेश कोइरालाले टिकट पाउनुभयो। उहाँ टिकट लिन पार्टी कार्यालय जाँदै हुनुहुन्छ।’ विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो।

यस्तै कांग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ।

उनलाई पार्टीले महानगरको प्रमुखका लागि टिकट दिएको चाक्सीबारीले पुष्टि गरेको छ। चाक्सीबारीले सोमबार दिउँसो १ बजेपछि मनोनयन दर्ताको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस