Latest News

एमाले र राप्रपाबीच चुनावी तालमेलको सहमति, कुन पद कसले लिने ?

Nepalese Times April 25, 2022 (1 Year ago)    922 Views

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चितवनको भरतपुर महानगरपालिकामा तालमेल हुने भएको छ ।

आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको नेकपा एमाले चितवनका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीले बताए ।

भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको उनको भनाइ छ ।

सहमति अनुसार राप्रपाले महानगरको वडा नं. १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं. ४,११, १६,१९ र २४ मा दुबै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत प्रतिस्पर्धा हुने एमालेले जनाएको छ ।

बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य उम्मेदवार रहनेछन् ।

यस्तै नेकपा एमालेले पोखराको मेयर र उपमेयरको उम्मेदवारे पुनर्विचार गर्ने भएको छ । मेयरमाथि सुन चोरी गरेको आरोप र उपमेयरले पनि उम्मेदवारी अस्वीकार गरेपछि अध्यक्ष केपी शर्मा ओलीले त्यसैअनसारको तयारी थालेका छन् ।

अध्यक्ष ओलीले उपमेयरको टिकट अस्वीकार गरेकी मञ्जुदेवी गुरुङलाई मेयरको टिकट दिने तयारी गरेको नेकपा एमालेका एक नेताले बताए । मेयरका उम्मेदवार दीप पौडेल भने मेयरको दौडबाट आउट भएका छन् ।

केही समयअघिको गहना चोरी गरिरहेको सीसीटिभी फुटेज बाहिरिएसँगै नेकपा एमालेभित्रैबाट चर्को दबाब आएपछि एमाले अध्यक्ष ओलीले उनलाई आउट गरेर मञ्जुलाई मेयरको उम्मेदवार बनाउन खोजेको स्रोतले जनाएको छ ।

एउटा सिसीटिभी फुटेजमा पौडेलले गहना किन्दै गर्दा कुनै वस्तु गोजीमा राखेको जस्तो देखिन्छ । एमाले स्रोतले भने सो भिडिओको कारण भन्दा पनि हेबिवेट उम्मेदवार दिन दबाब परेकाले पार्टीले पुनः विचार गर्न लागेको बताएको छ ।

पोखराको मेयरमा उम्मेदवार बनाउन लागिएका दीपक पौडेलको सन्दर्भमा स्थानीय कार्यकर्तादेखि पनि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब परेपछि एमाले अध्यक्ष ओली परामर्शमा जुटेका छन् ।

प्रदेश २ लगायत कतिपय प्रदेशका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारकै विषयमा विवाद सल्टाउनु परेकाले पोखराको बारेमा सोमबार बिहानसम्म एउटा निर्णय हुन एमाले स्रोतले जनाएको छ ।

उनको विकल्पमा हालकै उपमेयर मन्जु गुरुङलाई मेयर र युवा नेताहरू रश्मी आचार्य वा दिलिप न्यौपानेमध्ये एकलाई उपमेयर बनाउँदा जित सहज हुने सुझाव कतिपय नेताले दिएका छन् ।

गुरुङले आफू मेयरको पनि दाबेदार नरहेको र उपमेयरमा उम्मेदवार नबन्ने बताइसकेकी छन् । यद्यपि सर्वसम्मत रुपमा पार्टी आग्रह गरे उनी मेयरको उम्मेदवार बन्न तयार छिन् ।

प्रतिक्रिया दिनुहोस