Latest News

काभ्रे कांग्रेसमा विवाद भएपछि मेयरका उम्मेदवारले दाबेदारलाई कुटे

Nepalese Times April 24, 2022 (1 Year ago)    1217 Views

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् ।

उनीमाथि कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले कुटेका र उनको शरीरको विभिन्न भागमा चोट लागेको छ । बनेपामा भएको घटनापछि घाइते पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् ।

यस्तै पाँच दलीय गठबन्धनबीच भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका एक सय पाँच जना पार्टी सदस्यले राजीनामा दिएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि, वडा सचिव, सहसचिव लगायत पार्टीका पदाधिकारी तथा सदस्य गरी १ सय ५ जनाले पार्टी सदस्यबाटै राजीनामा दिएको जनाएका हुन् ।

गठबन्धनको भागबन्डामा बुटवल वडा नंं ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुप्रसाद ढकाललाई उम्मेदवार बनाउने सहमति भएपछि उनीहरूले राजीनामा दिएका हुन् ।

गठबन्धनका नाममा पार्टी केन्द्रले जनाधार नै नभएको दललाई भागबन्डाको नाममा स्थान दिएर वर्षौंदेखि पार्टीमा काम गरेका सदस्यहरूको अवमूल्यन गरेको गुनासो उनीहरूको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन बनेपछि विभिन्न क्षेत्रमा पार्टी सदस्यहरूले असन्तुष्टिका आवाज उठाउन थालेका छन्।

गठबन्धन दलहरूले आफ्नो भागमा परेको स्थानमा उम्मेदवार समेत टुंगो लगाउन नसकेको अवस्थामा टुंगो लागेको स्थानमा समेत पार्टी परित्याग गर्ने क्रम बढेको छ।

यस्तै नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका वडाहरूमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

दिनभर भागबण्डाका लागि छलफल भए पनि कुरा नमिलेपछि यस्तो निर्णय भएको पोखराका एक नेपाली कांग्रेसका नेताले बताएका छन् ।कांग्रेस नेताहरूलाई गठबन्धन नगर्न भन्दै कार्यकर्ताले चार घण्टा भन्दा थुनेपछि अन्तिममा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय जिल्ला सभापति किशोरदत्त बरालले सुनाएका थिए । यस्तै नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस