Latest News

गठबन्धनप्रति आपत्ति जनाउँदै कांग्रेसका १०५ जना नेताले दिए सामूहिक राजीनामा

Nepalese Times April 24, 2022 (2 Year ago)    728 Views

काठमाडौं । पाँच दलीय गठबन्धनबीच भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका एक सय पाँच जना पार्टी सदस्यले राजीनामा दिएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि, वडा सचिव, सहसचिव लगायत पार्टीका पदाधिकारी तथा सदस्य गरी १ सय ५ जनाले पार्टी सदस्यबाटै राजीनामा दिएको जनाएका हुन् ।

गठबन्धनको भागबन्डामा बुटवल वडा नंं ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुप्रसाद ढकाललाई उम्मेदवार बनाउने सहमति भएपछि उनीहरूले राजीनामा दिएका हुन् ।

गठबन्धनका नाममा पार्टी केन्द्रले जनाधार नै नभएको दललाई भागबन्डाको नाममा स्थान दिएर वर्षौंदेखि पार्टीमा काम गरेका सदस्यहरूको अवमूल्यन गरेको गुनासो उनीहरूको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन बनेपछि विभिन्न क्षेत्रमा पार्टी सदस्यहरूले असन्तुष्टिका आवाज उठाउन थालेका छन्।

गठबन्धन दलहरूले आफ्नो भागमा परेको स्थानमा उम्मेदवार समेत टुंगो लगाउन नसकेको अवस्थामा टुंगो लागेको स्थानमा समेत पार्टी परित्याग गर्ने क्रम बढेको छ।

यस्तै  नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका वडाहरूमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

दिनभर भागबण्डाका लागि छलफल भए पनि कुरा नमिलेपछि यस्तो निर्णय भएको पोखराका एक नेपाली कांग्रेसका नेताले बताएका छन् ।कांग्रेस नेताहरूलाई गठबन्धन नगर्न भन्दै कार्यकर्ताले चार घण्टा भन्दा थुनेपछि अन्तिममा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय जिल्ला सभापति किशोरदत्त बरालले सुनाएका थिए । यस्तै नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

गठबन्धन र तालमेलका क्रममा भरतपुर महानगरको मेयर पुनः माओवादीलाई नै दिने निर्णयमा असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरूको भेलाले पौडेललाई स्वतन्त्ररूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि बागी उठ्ने घोषणा गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालगायतले पौडेलको उम्मेदवारीमा समर्थन जनाएका छन् ।उनीहरूले सोमबार चौबीसकोठी चोकमा जम्मा भएर जुलुससहित निर्वाचन कार्यालयमा गई उम्मेदवारी दर्ता गर्ने जनाएको छ । पौडेल २०५४ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।

प्रतिक्रिया दिनुहोस