Latest News

सत्ता गठबन्धनको बैठक सकियो, चुनावी तालमेलबारे के–के भयो निर्णय ?

Nepalese Times April 24, 2022 (2 Year ago)    766 Views

काठमाडौं । देशभर मनोनयनको प्रक्रिया सुरु भइरहँदा सत्तारुढ दलहरुमा भने उम्मेदवार चयनमा विवाद उत्पन्न भएको छ । सत्तारुढ गठबन्धनको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ ।

आज बसेको सत्ता गठबन्धनको बैठकले तालमेलका विषयमा विभिन्न जिल्लामा उत्पन्न विवादका बीच यस्तौ निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

गठबन्धनको बैठकले भोलि मनोनयनअघिसम्म बाँडफाँड मिलाउन अधिकतम कोशिष गर्ने पनि निर्णय गरेको छ । भोलि बिहान ८ बजे पाँच दलका प्रमुखहरु बसेर मिलाउन कोशिष गर्नेछन् । विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने सहमति भएको छ ।

सत्तारुढ गठबन्धनले केन्द्रमा आपसी तालमेलको निर्णय लिए पनि विभिन्न जिल्लामा विवाद कायम छ । चितवनमा आज माओवादी उम्मेदवार रेणु दाहाललाई चुनौति दिँदै कांग्रेस नेता जगन्नाथ पौडेले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य जिल्लाहरुमा पनि कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् ।

यस्तै उम्मेदवार मनोनयनको पहिलो दिन सकिँदासमेत कांग्रेसले आफ्ना प्रतिस्पर्धी तय गर्न सकेको छैन । विगत केही दिनदेखि जारी कांग्रेस शीर्ष नेताको बैठक महानगरका ३ मेयर र ३ उपमेयरको उम्मेदवारको टुंगो लगाउन नसकेर लम्बिरहेको छ ।

कांग्रेस शीर्ष नेताहरुका अनुसार विराटनगरको उम्मेदवारका विषयमा छलफल गर्दा बढी समय खर्च भएको छ । शनिबार अबेर राति भएको बैठकमा मूलतः विरानगरकै उम्मेदवारको सन्दर्भमा छलफल भएको थियो ।

शुक्रबार मध्यरातसम्म बसेको बैठक भरतपुर र पोखराको उप मेयरमा केन्द्रित भएको नेताहरु बताउँछन् । विराटनगरमा मेयरको उम्मेदवार प्राप्त गरेको कांग्रेसमा पार्टी भित्रको दुई समूहको तीन समूहको दाबी छ । पछिल्लो समय दुई समूहकाबीच विवाद छ । विराटनगरमा नेता डा. शेखर कोइराला उनी पक्षीय नागेश कोइरालालाई उम्मेदवार बनाउन चाहन्छन् ।

नेता कृष्णप्रसाद सिटौला वर्तमान मेयर भीम पराजुलीलाई दोहो¥याउने पक्षमा छन् । शेखर र सिटौला आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निश्कर्षविहिन हुँदै आएको नेताहरुको भनाइ छ । शेखरले आफू निकट नागेशको पक्षमा उभिँदै गर्दा काठमाडौंको तथ्य टेकेर बोलेको बैठकमा सहभागी एक नेताले बताए ।

काठमाडौंमा नेता प्रकाशमान सिंह निकट व्यक्ति जिल्ला र नगर सभापति छन् । सिंहले भने मुताविकै काठमाडौंमा मेयर चयन हुने निश्चित भएको छ । तर, यही सन्दर्भ मोरङसँग मेल नहुँदा शेखर रुष्ट देखिएका छन् । मोरङ जिल्ला र विराटनगर सभापति शेखर पक्षीय हुन् ।

काठमाडौंमा प्रकाशमान निकटले टिकट पाउने अवस्था हुँदा उस्तै आधार रहेको विराटनगरमा पनि लागु हुनुपर्ने माग शेखरको छ । ‘काठमाडौंको जिल्ला सभापति र महानगर सभापति प्रकाशमान सिंह निकट भएकाले प्रकाशमानले भनेको व्यक्तिलाई टिकट दिने आधार बनाइयो’, बैठकमा सहभागी एक नेताले भने, ‘काठमाडौंको जस्तै अवस्था मोरङमा पनि छ । जिल्ला सभापति र महानगर सभापति दुवै शेखर कोइरालाले प्रस्ताव गरेको क्यान्डिडेडको पक्षमा छन् ।’

शेखरले देखाएको नजिरलाई नेता विमलेन्द्र निधिले पनि साथ दिएका थिए । ललितपुरमा चिरीबाबु महर्जन र प्रेमकृष्ण महर्जनको नाममा नेताहरु बाझिरहेका छन् । पार्टी सभापति देउवाले महर्जनलाई दोहो¥याउन चाहेका छन् । तर उनी स्थानीय कार्यकर्तामा अलोकप्रिय रहेकाले उठाउन नहुने मत अन्य नेताको छ ।

महानगरको उम्मेदवार टुंगो नलाग्दा उप महानगरमासमेत छलफल अघि बढ्न नसकेको नेताहरुको धारणा छ । उपमहानगरको उम्मेदवारको निर्णय गर्ने अधिकार प्रदेश संसदीय समितिलाई भए पनि केन्द्रको मुख ताकिएको छ ।

प्रतिक्रिया दिनुहोस