Latest News

कार्यकर्ताले नेता थुनेपछिको नतिजा : पोखरामा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

Nepalese Times April 24, 2022 (1 Year ago)    783 Views

काठमाडौं । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका वडाहरूमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

दिनभर भागबण्डाका लागि छलफल भए पनि कुरा नमिलेपछि यस्तो निर्णय भएको पोखराका एक नेपाली कांग्रेसका नेताले बताएका छन् ।कांग्रेस नेताहरूलाई गठबन्धन नगर्न भन्दै कार्यकर्ताले चार घण्टा भन्दा थुनेपछि अन्तिममा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय जिल्ला सभापति किशोरदत्त बरालले सुनाएका थिए ।

यस्तै आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस संसदीय समितिको बैठक चलिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा विवाद रहेका महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारबाटे छलफल भइरहेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए ।

आइतबार दिउँसो बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको थियो । संसदीय समितिको बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । ​

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएको हो । यस्तै बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि अन्ततः देउवालाई नै टिकट वितरणको अधिकार प्रत्यायोजन गरेको छ ।

यस्तै उपसभापति पूर्णबहादुर खड्काका अनुसार उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने वैधानिक व्यवस्था भएकामा त्यो अधिकार पनि खोसेर देउवामा प्रत्यायोजित गरिएको छ ।

अब देउवाले पार्टीका तर्फबाट लड्ने मेयर तथा उपमेयरको उम्मेदवार नेताहरूसँगको परामर्शको आधारमा टुंगो लगाउनेछन् ।​ सत्ता गठबन्धनमा भएको सहमतिअनुसार काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने छ ।

यस्तै वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ । यस्तै उपमहानगरतर्फ धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीमा मेयर उम्मेदवार उठाउने छ । यसैगरी जितपुर सिमरा, घोराही र हेटौडामा उपमेयर भाग पाएको छ ।

यस्तै नेपाली कांग्रेसको असन्तुष्ट समूहले भरतपुर महानगरपालिकाको मेयरमा पूर्वसांसद जग्गनाथ पौडेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ । गठबन्धनले महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिएपछि असन्तुष्ट समूहले यस्तो घोषणा गरेको हो।

नारायणगणको कमलनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार बसेको असन्तुष्ट पक्षको भेलाले पौडेललाई कांग्रेसको तर्फबाट बागी उम्मेदवार बनाउने निर्णय गरेको हो । पौडेल राष्ट्रिय सभाका पूर्वसांसद हुन् । पौडेलले महानगरको मेयरमा आकांक्षा समेत राखेका थिए ।

पौडेललाई पार्टीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, निवर्तमान जिल्ला सभापति, क्षेत्रीय सभापति, तथा विभिन्न वडाका सभापतिहरूले समर्थन गरेको कांग्रेसका नेता उद्वव लोहनीले जानकारी दिए । उनलाई महासमिति सदस्य मिना खरेलले प्रस्ताव तथा पूर्वसांसद भीमबहादुर श्रेष्ठले समर्थन गरेका छन् ।

मेयरको उम्मेदवार बन्न लागेका नेता पौडेलले कांग्रेस बचाउनका लागि मेयरमा उम्मेदवारी दिन लागेको बताए । सोमबार दिउँसो १ बजे पार्टीको झण्डासहित भरतपुर चौबिसकोठीबाट नेता कार्यकर्तासहित उम्मेदवारी दर्ता गराउने उनले बताए ।

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । ८८ पेज लामो घोषणा पत्रमा ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर, गाउँदेखि केन्द्रसम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा दिइएको छ ।

पार्टीले आफ्नो सङ्कल्पमा चुनाव जितेपछि केही गर्ने र नगर्ने कामहरूको सूची पनि बनाएको छ । जसमा पार्टीले आफूले गर्ने कामहरूमा एक वर्ष भित्र स्थानीय सरकारलाई थप स्रोत साधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने तथा सुशासन, पारदर्शिता, जबाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुसरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्ने लगायत विषयहरू उल्लेख गरेको छ ।

यता पार्टीले नगर्ने कामहरूमा जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने लगायत विषयहरू समावेश गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस